प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि सिंहदरबारमा संवैधानिक परिषदको बैठक

सफल खबर संवाददाता

बुधबार, ०६ बैशाख २०८०, ०९ : १८
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि सिंहदरबारमा संवैधानिक परिषदको बैठक

काठमाडौँ- प्रधानन्यायाधीश नियुक्तिका लागि बुधबार संवैधानिक परिषदको बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसिरहेको हो।

जारी बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बताइएको छ।

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एसाेसिएसनलगायत कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै पहिलो पटक संवैधानिक परिषद्को बैठक बसेकाे हाे।

सोमबार बालकोटमा बसेको नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

२०७८ फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेसँगै न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम लिएका थिए।

उनले करिब ८ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि अवकाश लिएका थिए। त्यसपश्चात् न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्।

संसदमा महाअभियोग प्रस्ताव भएपछि निलम्बनमा परेका राणाको समेत अवकाश भइसकेको छ।

संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिस गर्दछ। परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन् भने सभामुख, प्रधानन्यायाधीश, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य हुन्छन्।

परिषदले नियुक्ति सिफारिस गरेपश्चात् उक्त सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्छ। त्यसपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस