एसीसी प्रिमियर कप आजदेखि, उदघाटन खेलमा नेपालले मलेसियासँग खेल्ने

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, ०७ : ५०
एसीसी प्रिमियर कप आजदेखि, उदघाटन खेलमा नेपालले मलेसियासँग खेल्ने

काठमाडौ । आजदेखि नेपालमा एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। 

प्रतियोगिताको पहिलो खेलमा नेपाल आज मलेसियासँग भिड्दै छ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

एसिसी प्रिमियर कपका लागि‍ रोहित पौडेलको कप्तानी रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतीश जिसी र ललित राजवंशी छन्।

अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोलाई रिजर्भमा राखिएको छ।

यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। 

नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा,  तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ। 

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ।

प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस