किसानलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, १९ : १७
किसानलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई

कैलाली । किसानलाई यतिबेला खेतमा पाकेको गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । हिउँदको समयमा लगाएको गहुँ बाली पाकिसकेपछि उनीहरूलाई गहुँ बाली भित्र्याउन भ्याइनभ्याई भएको हो । खेतमा लगाएको गहुँ बाली, मसुरो पाकेर तयारी अवस्थामा भएपछि कृषक यस समयमा निकै व्यस्त छन् ।

धनगढी उपमहानगरपालिका–२ भन्सार कटानगाउँकी कृषक सताल्ली रावलले खेतमा गहुँ बाली पाकेर बिग्रिने अवस्थामा पुगेकाले बिग्रिने भन्दै चिन्ता व्यक्त गरे । उनले भने, “हिजोआज घरको सबै काम छाडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अँध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ ।”

केही दिनदेखि गर्मी बढ्दै गएको र वर्षा हुनसक्ने भन्दै गहुँ बाली भित्र्याउनका लागि यस क्षेत्रका किसानको अधिकांश समय खेतबारीमै बित्ने गरेको छ । किसानका परिवारका सबै सदस्य प्रायःजसो खेतबारीमै भेटिने गर्दछन् ।

त्यस्तै खेतमा गहुँ काट्दै गरेका धनगढी–३ बैयाबेहडीका किसान माइला चौधरीले रातिको १२ बजेसम्म पनि गहुँ भित्र्याउनका लागि थे्रसर मेसिनको पालो कुर्नुपरेको कुरा सुनाए । गहुँ थ्रेसर गर्नका लागि पालो पर्खँदासमेत थ्रेसर नपाएरै फर्कनुपरेको चौधरीले दुःखेसो पोखे ।

परम्परागत तरिकाले गहुँ भित्र्याउने गरेका किसानसमेत यतिबेला आधुनिक उपकरण प्रयोग गरी गहुँ भित्र्याइरहेको पाइन्छ । किसान एकअर्कासँग पालोपैचो तथा पर्म गर्दै गहुँ काट्ने र थे्रसर लगाएर भित्र्याउने गरिरहेका छन् ।

गहुँ भित्र्याउने चटारोका कारण नयाँ साल आएको महसुससमेत नभएको धनगढीकै अर्का किसान बखतबहादुर चौधरीले बताए । “नयाँ साल त आयो तर के गर्ने आफ्नो खेतमा गहुँ, मसुरो पाकेर झर्ने अवस्थामा पुगेको छ, पाकेको बाली भित्र्याउन पाइदिएको भए ढुक्क भइन्थ्यो”, उनले भने, “घर खर्च चलाउने आर्थिक उपार्जनको बाटो र वर्षभरिलाई खान पुग्ने अन्न यही खेतीपाती नै हो ।”