नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, १२ : १७
नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । नेपाल शिक्षक संघको नवौँ महाधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको ६०७ मतमा गिरीले ३०५ ल्याउँदा उनका निकटतम् गोकर्णबहादुर बानियाँले २९८ मत प्राप्त गरे ।

गिरी कांग्रेसको शेखर कोइराला–गगन थापा समूह निकट हुन् भने बानियाँ सभापति शेरबहादुर देउवा पक्षका मानिन्छन् । वरिष्ठ उपाध्यक्षमा गिरी प्यानलबाट इलमबहादुर शाही विजयी भएका छन्। 

उनी बानियाँ प्यानलका बिर्खबहादुर मल्ललाई हराउँदै वरिष्ठ उपाध्यक्ष्यमा विजयी भएका हुन्। शाहीले ३३३ र मल्लले २६६ मत पाएका छन्। यस्तै महासचिवमा ज्ञानेन्द्रबहादुर रावल निर्वाचित भएका छन्।  उनी ३०२ मतसहित महासचिवमा निर्वाचित हुँदा प्रतिस्पर्धी मेघनाथ यादवले २८८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष महिलातर्फ धनकला भण्डारी निर्वाचित भएका छन्।प्रदेशतर्फ उपाध्यक्षमा कोशी प्रदेशतर्फ वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ छोटेलालप्रसाद तेली शाह, बागमतीमा सुन्दर पन्त, गण्डकीमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनीमा प्रेमनारायण भण्डारी, कर्णालीमा भगवती श्रेष्ठ, सुदूरपश्चिममा खड्कबहादुर खड्का निर्वाचित भएका छन्। महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस