मसाललाई पनि एकतामा ल्याउन वार्ता भएको छ :मोहन वैद्य

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, १३ : ५५
मसाललाई पनि एकतामा ल्याउन वार्ता भएको छ :मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ९किरण०ले नेकपा बहुमतसँगको पार्टी एकता अहिलेको राज्य व्यवस्थाको विरोधमा रहेको बताएका छन्। उनले यो एकता प्रक्रियामा नेकपा मसाल पनि सामेल हुने विश्वास व्यक्त गरेका छन् ।आज धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँगको पार्टी एकताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने, ‘यो एकता अहिलेको राज्य व्यवस्थाको विरोध र विकल्पमा भएको छ । हामी दक्षिणपन्थी संशोधनवादविरुद्ध लड्दै क्रान्तिको झण्डालाई उचो बनाउने छौं ।

’उनले अन्य कम्युनिष्ट पार्टीलाई पनि एकताबद्ध गर्दै जाने प्रयास भइरहेको जानकारी दिए । यसैक्रममा नेकपा मसालसँग पनि वार्ता गरेको वैद्यले बताए । ‘हामीले मसालका कमरेडहरुसँग पनि वार्ता गर्यौं । उहाँहरुले तपाईंहरु अगाडि बढ्नुस् हामी पनि सल्लाह गरेर यो प्रक्रियामा सामेल हुन्छौं भन्नुभएको छ । मलाई आशा छ उहाँहरुलाई पनि आबद्ध गर्ने छौं ।’ उनले अन्य कम्युनिष्ट पार्टीलाई पनि आबद्ध गर्दै एकता महाधिवेशनमा अगाडि बढ्ने बताए ।कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले नेकपा मसालसँग पनि एकताको लागि छलफल गरेको तर केही विषयमा विमती कायमै रहेकाले अहिले एकता हुन नसकेको बताए । उनले अन्य सबै कम्युनिस्ट पार्टीहरुलाई एकता प्रक्रियामा आउन आह्वान गरे ।