भरतपुर महानगरको निर्णय : साउन पाँच गतेदेखि तीनपाङग्रे सवारीसाधन राजमार्ग र बाइपासमा चलाउन नपाइने

सूर्यप्रकाश कँडेल

मंगलबार, ०१ साउन २०७५, २० : १७
भरतपुर महानगरको निर्णय : साउन पाँच गतेदेखि तीनपाङग्रे सवारीसाधन राजमार्ग र बाइपासमा चलाउन नपाइने

चितवन । भरतपुर महानगरपालिकाले साउन पाँच गतेबाट तीनपाङ्ग्रे सवारीसाधन पूर्वपश्चिम राजमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडकखण्डमा चलाउन नपाइने गरी रोक लगाउने भएको छ ।  भरतपुर महानगरले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यसबारेमा जानकारी दिएको हो ।
महानगरले गरेको निर्णय अनुसार साउन पाँच गतेबाट भरतपुरको बाइपास रोड, पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा तीनपाङ्ग्रे सवारीसाधन चलाउन पाइने छैन । तर भित्री सडक र राजमार्ग पार गरी जाने तीनपाङ्ग्रेलाई भने महानगरले निश्चित १६ स्थानमा क्रसरोड (बाटो काट्ने) व्यवस्था गरेको छ ।

कार्यक्रममा बोल्दै महानगरपालिका प्रमुख रेनु दाहालले शहरलाई व्यवस्थित र सुन्दर बनाउनका लागि तीनपाङ्ग्रे सवारीमा रोक लगाउने निर्णय गरेको बताउनु भयो । यसलाई कडाइका साथ कार्यन्वयन गरिने उहाँको भनाइ थियो । यस बिषयमा यातायात व्यवस्था विभागले गत असोजमा निर्देशन दिइसकेको भन्दै उहाँले सोही बमोजिम सरोकारवालाबीच छलफल गरी असार ९ गतेको निर्णय अनुसार कार्यान्वयन गर्न लागिएको बताउनु भयो ।

शुरुका चरणमा जुनसुकै निर्णय कार्यान्वयन गर्न कठिनाई र चुनौती हुने भन्दै यसतर्फ सबैलाई सहयो गर्न आग्रह गर्नुभयो । यसअघि महानगरले अव्यवस्थित पार्किङ र फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्न सफल भएको थियो ।
कार्यक्रममा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनपछि क्रमशः  टिपर तथा साना चारपाङ्ग्रे सवारीलाई समेत व्यवस्थापन गरिने बताउनु भयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्रसिंह बस्नेतले राजमार्गमा तीब्र गतिमा गुड्ने सवारीसाधन बढी हुने भएकोले दुर्घटना न्यूनीकरणको लागि सुस्त चल्ने सवारीलाई रोक लगाइएको जानकारी दिनुभयो । चितवन जिल्लामा तीनपाङ्ग्रे सवारीसाधन बेच्ने तीन वटा डिलरबाट २ हजार १ सयभन्दा बढी सवारीसाधन बिक्री भएको भन्दै प्रजिअ बस्नेतले अबदेखि  थप बिक्री गर्ने डिलरलाई कारबाही गरिने बताउनु भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले केही महिना अगाडिदेखिको तथ्यांक केलाउंँदा सबैभन्दा बढी दुर्घटना र मानिसको मृत्यु तीनपाङ्ग्रे सवारीबाट भएको भन्दै यसलाई कडाइका नियन्त्रण गरिने बताउनु भयो । भरतपुर महानगरमा मात्रै चलाइने तीनपाङ्ग्रे सवारीसाधनको संख्या तीन हजारको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

महानगरको आयव्यय सार्वजनिक
भरतपुर महानगरपालिकाले आर्थिक वर्षको पहिलो दिन मंगलबार गत आर्थिक वर्षको आयव्यय सार्वजनिक गरेको छ । भरतपुर महानगरको गत आर्थिक वर्षको कुल अनुमानित खर्च ३ अर्ब ५० लाख विनियोजन गरिएकोमध्ये २  अर्ब ४१ करोड ८२ लाख २७ हजार ६ सय ३३ रुपैयांँ खर्च भएको छ ।
भरतपुर महानगरले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरण अनुसार चालु खर्च १ अर्ब १६ करोड १७ हजार १ सय ४ रुपैयाँ भएको छ । पूँजीगत खर्च ८५ करोड ३३ लाख ४३ हजार ४ सय ३ रुपैयाँ रहेको छ । वित्तीय व्यवस्था अन्तर्गत ८६ लाख ५८ हजार १ सय २६ रुपैयाँ र सामाजिक सुरक्षा अन्तर्गत ३८ करोड ५६ लाख ९ हजार रुपैयांँ खर्च भएको छ ।
महानगरले असार मसान्तसम्म जनसहभागिताको अनुमानित आय ८८ करोड ३४ लाख ६८ हजार गरेकोमध्ये जनसहभागिताबाट ४९ करोड ९८ लाख ८७ हजार ८ सय ३१ रुपैयाँ संकलन गर्न सफल भएको छ । पत्रकार सम्मेलनमा महानगरले चालु आर्थिक वर्षको लागि विभिन्न दस वटा विषयगत क्षेत्रमा तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस