तालिबानले अफगान महिलालाई राष्ट्र संघमा काम गर्न लगायो प्रतिबन्ध

एजेन्सी

विहीबार, २३ चैत्र २०७९, १३ : ०६
तालिबानले अफगान महिलालाई राष्ट्र संघमा काम गर्न लगायो प्रतिबन्ध

काबुल । तालिबानले अफगान महिलाहरूलाई संयुक्त राष्ट्र संघमा काम गर्न प्रतिबन्ध लगाएको छ। मंगलबार महिलालाई काम गर्न रोकेपछि राष्ट्र संघले उक्त निर्णय फिर्ता लिन अनुरोध गरेको समाचार संस्था एएफपीले जनाएको छ।

उक्त निर्णय स्वीकार्य नहुने भन्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले तत्काल फिर्ता लिन माग गरेका छन्। ‘यो निर्णय महिलाको मानव अधिकारको उल्लंघन हो,’ गुटेरेसको तर्फबाट प्रवक्ता स्टेफेन दुजारिकले विज्ञप्ति जारी गर्दै भने।

संघका कार्यालयमा करिब ४०० अफगान महिला कार्यरत छन्।तालिबानले उक्त निर्णय गरेसँगै महिला(पुरूष सबै कर्मचारीहरूलाई कम्तीमा पनि आइतबारसम्म कार्यालय नआउन भनिएको छ। अर्को सूचना जारी गरेरमात्रै कार्यालयमा बोलाइने संघले बताएको छ।

तालिबानले यसरी रोक लगाए पनि अफगान महिलाहरूलाई तलब दिन भने नरोकिने उपमहासचिव अमिना मोहम्मदले बताएकी छन्। ‘रमदानको महिनामा तालिबानले यसरी इस्लामको शिक्षा र आस्थाविरूद्ध गरेको निर्णयले म एकदमै चिन्तित छु,’ उनले भनिन्।

यस विषयमा छलफल गर्न बिहीबार सुरक्षा परिषदको बैठक डाकिएको छ। सन् २०२१ मा सत्तामा आएपछि तालिबानले अफगान महिलाहरूलाई विभिन्न क्षेत्रमा रोक लगाउँदै आएको छ। उच्च शिक्षा र सरकारी जागिरको लागि महिलाहरूलाई प्रतिबन्ध लगाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस