भरतपुर २९ चौकीडाँडामा खानेपानीको समस्या अन्त्य, खानेपानीको मेयर दाहालद्धारा उद्घाटन

सफल खबर संवाददाता

विहीबार, २३ चैत्र २०७९, ११ : ४६
भरतपुर २९ चौकीडाँडामा खानेपानीको समस्या अन्त्य, खानेपानीको मेयर दाहालद्धारा उद्घाटन

चितवन । चितवनको भरतपुर महानगरपालिका २९ स्थित पहाडी क्षेत्र चौकीडाँडामा खानेपानी आयोजना सञ्चालनमा आएको छ । चौकीडाँडा खानेपानी आयोजनाको बुधबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । आयोजनाको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर २९ को सबै भन्दा ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या सदाका लागि अन्त्य भएको बताइन्। यो आयोजना सञ्चालनमा आएसँगै स्थानीयमा खुसीयाली छाएको समेत उनको भनाइ थियो ।

प्रमुख दाहालले यो खानेपानी आयोजनालाई जति सक्दो छिटो भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा समावेश गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरिन् । महानगरले ७ युनिट खानेपानी खपत गर्नेलाई निःशुल्क गर्ने सुविधा यो आयोजनालाई पनि समावेश गराईने उल्लेख गरिन् ।

प्रमुख दाहालले पहिलो पटक भरतपुर महानगरपालिका प्रमुखमा निर्वाचित भएर भरतपुर–२९ मा आउने क्रममा यहाँका स्थानीयले सडकभन्दा पहिला खानेपानीको माग गरेकाले खानेपानीलाई प्राथामिकतामा राखेर काम गरेको स्मरण गरिन् । यस अघि भरतपुर–२९ कै ढोडेनी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आईसकेको छ । संघीय सरकार, प्रदेश सरकारको ५ करोड ९५ लाख तथा भरतपुर महानगरको १ करोड ७५ लाख तथा ६२ लाख २५ हजार बराबरको श्रमदान गरी ९ करोड ६ लाख ७५ हजार लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो ।

उक्त आयोजनाबाट लामी डाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी,आरुबोटे, सती डाँडाँका ३ सय ५० घर लाभान्वित हुनेछन् । आयोजना अन्तरगत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङकी छ । आयोजनाको थाम डाँडामा २ लाख लिटरको वितरण ट्याङ्की रहेको छ । करिब २५ किलोमिटर पाईप लाईन जडान भएको आयोजनामा डबल स्टेज पम्पिङ सिस्टम राखिएको छ ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री घनश्याम दाहाल, वडा नम्बर २९ का वडा अध्यक्ष सुर्य बहादुर गुरुङ, पूर्व अध्यक्ष मान बहादुर मगर लगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस