मिटरब्याज पीडितको समस्या समाधानका लागि पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, १९ : ३७
मिटरब्याज पीडितको समस्या समाधानका लागि पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन

काठमाडौं। सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र डिआईजी गणेशबाबु अर्याल रहेको आयोग गठन गरेको हो।

आयोगलाई मिटरब्याज पीडितहरुको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको पनि नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

बैठकले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगको कार्यालय मधेस प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ।

मिटरब्याज पीडितहरुलाई आफ्नो समस्या राख्न सहज हुने भएकाले सरकारले सो निर्णय पनि गरेको मन्त्री शर्माले बताइन्।

उनले भनिन्, ‘हाम्रो देशमा गम्भीर समस्याको रुपमा देखा परेको मिटरब्याज पीडितहरुको समस्या त्यो विषयमा एउटा छानबिन गर्न समिति बनेको छ। पूर्व न्यायाधिश गौरीबहादुर कार्कीको नेतृत्वमा पूर्व एआईजी उत्तमबहादुर सुवेदी, गणेशबाबु अर्याल रहेको तीन सदस्यीय समिति बनेको छ।’

प्रतिक्रिया दिनुहोस