आन्तरिक विद्युत खपत क्षमता बढाउनु मेरो प्राथमिकता : ऊर्जामन्त्री बस्नेत

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, १६ : ५७
आन्तरिक विद्युत खपत क्षमता बढाउनु मेरो प्राथमिकता : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत मुलुक भित्रै खपत गर्न क्षमता वृद्धि गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए ।

‘विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत्को व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् त्यसै खेर फाल्न त मिलेन ? त्यसलाई निर्यात गर्नु पर्छ,’ मन्त्री बस्नेतले भने, ‘पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायहरुसँग आवश्यक समन्वय गरिने छ ।’

जलविद्युत तथा प्रसारणलाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रुख कटानमा देखिएको समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्ववनमन्त्री समेत रहेका मन्त्री बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिलासुस्ती रोक्न आफू सक्रिय रहने बताए ।

उनले सार्वजनिक संस्थाहरुमध्ये प्राधिकरणले देशमा सकारात्मक मानक स्थापना गरेको समेत बताए । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री बस्नेतले स्थापित सकारात्मक मानकलाई अभिबृद्धिका लागि थप भूमिका निर्वाह गर्न जवाफदेही बन्न र नयाँ सम्भावनालाई खोज्न कर्मचारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस