अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १३ : ०८
अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने दाबी गरेका छन । शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गरेका हुन।

उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसकेपनि राम्रो काम गरेको दाबी गरे । मन्त्री खानले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरू गरेको बताए । उनले अब छिटै नै विभिन्न सार्वजनकि स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताए ।

मन्त्रालयका विभिन्न समस्याका कारण अझैपनि आफूले चाहेको गतिमा काम गर्न नसकेको बताउदौ मन्त्री खानले बोतल र जारमा महंगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको बताए । उनले पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे ।

मन्त्री खानले देशका हरेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताए । शुक्रबार खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रुपमा सेवा पाउनेगरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो ।

प्रतिक्रिया दिनुहोस