साफ यु–१७ महिला च्याम्पियनसिप खेलेर फर्किएका खेलाडीलाई स्वागत

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १२ : ०९
साफ यु–१७ महिला च्याम्पियनसिप खेलेर फर्किएका खेलाडीलाई स्वागत

चितवन । बंगलादेशमा सम्पन्न साफ यु–१७ महिला च्याम्पियनसिप खेलेर फर्किएका खेलाडीलाई चितवन जिल्ला फुटबल संघले स्वागत गरेको छ ।संघले नेपाली टोलीमा रहेका चितवनका दुई र बाराका एक खेलाडीलाई बिहीबार साँझ स्वागत गरेको हो । संघले प्रतियोगितामा सहभागी भएर गृह जिल्ला फर्किएकी गोलरक्षक सुजाता तामाङ र सुशीला भुजेललाई स्वागत गरेको हो ।

यस्तै सोही टोलीकी अर्की गोलरक्षक बाराकी करुणा बुढाथोकीलाई पनि संघले चितवनमा स्वागत गरेको छ । उनीहरुलाई संघका अध्यक्ष श्रीकृष्ण कार्की, उपाध्यक्ष विजय घले, महासचिव रामहरि ढकाल तथा संघ पदाधिकारी र सदस्यहरुले स्वागत गरे ।‘सुजाता प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भएकी थिईन् । उनी लगातर दुई पटक साफमा नेपालको उमेर समूहको टोलीबाट उत्कृष्ट गोलकिप्पर घोषित भएकी हुन् । यसअघि बंगलादेशमा नै सम्पन्न महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले उपाधि जित्दा पनि सुजाता उत्कृष्ट गोलकिपर बनेकी थिईन् ।

संघका अध्यक्ष कार्कीले सुजता र सुशीलाले चितवनसँगै देशकै शिर उच्च पारेको बताए । कार्कीले खेलाडीद्धयलाई आगामी दिनमा आवश्यक हरेक किसिमका सहयोग गर्न संघ सधैं तयार रहने बताए । कार्कीले खेलाडीलाई चाहिने न्युनतम आधारभूत आवश्यकताको अभावमा खेल छोड्नुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाएका छन् ।सुजाताले उत्कृष्ट गोलकिपर घोषित हुँदा खुशी लागेको बताएका छन् । यस पटक उपाधि जित्न नसके पनि टिमले सक्दो प्रयास गरेको उहाँको भनाइ थियो । यस्तै सुशीलाले बलियो टोलीविरुद्ध नेपालले राम्रै प्रदर्शन गरेको बताए ।

पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो । राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न प्रतियोगिताका सबै खेलमा जित निकालेको रुस १२ अंकसहित च्याम्पियन बन्यो । दोस्रो स्थानको बंगलादेशले चार खेलबाट सात, भारतले ६ र नेपालले चार अंक जोडेका थिए । पाँचौं स्थानमा सीमित बनेको भुटान जित तथा अंकविहीन रह्यो ।

प्रतिक्रिया दिनुहोस