मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

सूर्यप्रकाश कँडेल

सोमबार, ३२ असार २०७५, १८ : ४४
मनकामना केबुलकारले पायो उत्कृष्टताको प्रमाणपत्र

चितवन । इच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटारमा रहेको मनकामना केबुलकारले निरन्तर चौथो वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सीलेन्स) पाएको छ । विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले सेवाग्राहीको मूल्यांकनको आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो ।


सेवाग्राहीहरुको मूल्यांकन (रिभ्यु) को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकोले मनकामना केबुलकारलाई सर्टिफिकेट अफ एक्सीलेन्स प्रदान गरिएको ट्रीप एड्भाइजरले जनाएको छ । ‘ग्राहकहरुको वास्तविक मूल्यांकनको आधारमा हामीले यो प्रमाणपत्र पाएका हौँ’ मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले सफल खबरसँग टेलिफोन कुराकानीमा भन्नुभयो, ‘सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाएका छौँ ।’
ट्रीप एड्भाइजरको वेबसाइटमा चीन, भारत, बंगलादेश, इंग्ल्याण्ड, संयुक्त अरब इमिरेट्स लगायतका देशबाट नेपाल आई मनकामना केबुलकार चढेका यात्रुले मनकामना केबुलकारबारे रिभ्यु गरेका छन् । ९० वटा रिभ्युमध्ये ६४ जनाले उत्कृष्ट, १७ जनाले धेरै राम्रो, तीन जनाले औसत, दुई जनाले कमजोर र चार जनाले डरलाग्दो भनी मूल्यांकन गरेका छन् । पाँच अंकको समग्र मूल्यांकनमा मनकामना केबुलकारले चार दशमलव पाँच अंक (रेटिङ) प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस