पाँच वर्षको प्रयासपछि बल्ल चितवन बन्यो पूर्ण खोप जिल्ला

सूर्यप्रकाश कँडेल

सोमबार, ३२ असार २०७५, १७ : १९
पाँच वर्षको प्रयासपछि बल्ल चितवन बन्यो पूर्ण खोप जिल्ला

तस्बिरहरु : सूर्यप्रकाश कँडेल

चितवन । पाँच वर्षको अथक प्रयासपछि चितवन जिल्ला सोमबारदेखि पूर्ण खोप जिल्ला घोषित भएको छ । भरतपुर महानगरपालिका र जिल्ला खोप समन्वय समिति चितवनले भरतपुरमा आयोजना गरेको पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहमा चितवनलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
सरकारले २०६७ सालदेखि पूर्ण खोपको अवधारणा अघि सारेपछि चितवनलाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउन पहिलो पटक २०७१ साल असार १८ गते साबिक फूलबारी गाविस (हाल भरतपुर महानगरपालिका, वडा नम्बर १५) लाई पूर्ण खोप गाविस (हाल वडा) घोषणा गरिएको थियो । पछिल्लो पटक आज सोमबार वडा नम्बर एकदेखि पाँच र सातदेखि १२ सँगै सिंगो भरतपुर महानगर पूर्ण खोप महानगर घोषणा गरियो । यो घोषणासँग चितवन जिल्ला पूर्ण खोप सुनिश्चित ५३ औं जिल्ला बन्न पुगेको हो ।


समारोहमा जिल्ला खोप समन्वय समितिको सचिवालयका तर्फबाट भरतपुर महानगर प्रमुख रेनु दाहाललाई पूर्ण खोप महानगरपालिका प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी राष्ट्रिय पूर्ण खोप समन्वय समितिको सचिवालयका तर्फबाट जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीलाई पूर्ण खोप जिल्ला प्रमाणपत्र प्रदान गरिएको थियो । दुवै प्रमाणपत्र कार्यक्रमकी प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले हस्तान्तरण गर्नु भएको थियो ।


एउटा बच्चालाई सबै खोपको मात्रा पूरा गर्दा ४५ हजार रुपैयाँ खर्च आउने जानकारी गराउँदै राज्यमन्त्री अर्यालले सरकारले सबै खर्च व्यहोरेर निःशुल्क खोप सेवा प्रदान गर्दै आएको बताउनु भयो । नवजात शिशुलाई जन्मदेखि १५ महिनासम्म ११ थरी रोगविरुद्ध खोप लगाउनु पर्छ । यी सबै खोप बालकले पाएपछि पूर्ण खोप भएको मानिन्छ । उहाँले पूर्ण खोप घोषणामा महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । पाँच वर्षभित्र प्रत्येक पालिकामा एउटा अस्पताल सञ्चालनमा ल्याइने राज्यमन्त्री अर्यालको भनाइ थियो । 


समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख विजयकुमार झाले समग्र जिल्लाको पूर्ण खोप प्रतिवेदन र भरतपुर महानगरपालिका, जनस्वास्थ्य शाखाको प्रतिवेदन संयोजक जीवनकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय सभा सदस्य पार्वती रावल, प्रदेश सभा सदस्यद्वय कृष्णप्रसाद खनाल र गीता वाग्ले, राष्ट्रिय पूर्ण खोप समन्वय समितिको सचिवालयका अमर दवाडी, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट रविन खड्का, महिला स्वास्थ्य स्वयंसेविका शुभद्रा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा कवि राजेन्द्र घायलले पूर्ण खोप सम्बन्धी कविता सुनाउनु भएको थियो ।


औपचारिक समारोह सुरु हुनुभन्दा अगाडि भरतपुर महानगरपालिका कार्यालयदेखि चौबीसकोठी, भरतपुर अस्पताल, जिल्ला समन्वय समितिको कार्यालय, हाकिमचोकहुँदै कार्यक्रमस्थल हाकिमचोकस्थित होटल स्टार बेङ्क्वेटसम्म ¥याली निकालिएको थियो । ¥यालीमा महिला स्वास्थ्य स्वयंसेविका, भरतपुर महानगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, विद्यार्थी, सुरक्षाकर्मी, सर्वसाधारण लगायत सहभागी थिए । ¥यालीका सहभागीले हातहातमा पूर्ण खोपबारे विभिन्न नारा लेखिएका प्लेकार्ड समातेका थिए ।


 

प्रतिक्रिया दिनुहोस