अर्थतन्त्रको संकट समाधान गर्न सबै दल मिल्नुपर्छ : विष्णु पौडेल

सफल खबर संवाददाता

शनिबार, ११ चैत्र २०७९, १५ : ४०
अर्थतन्त्रको संकट समाधान गर्न सबै दल मिल्नुपर्छ : विष्णु पौडेल

बुटवल । पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताए ।

पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको भन्दै सबै मिलेर समाधान खोज्नुपर्ने आग्रह गरे । ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन’, पौडेलले भने, ‘२०२४/२०२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’

मुलुकको संकटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरु सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई संकट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्नुपर्ने पौडेलले आग्रह गरे ।

पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताए । कार्यविधि स्वीकृत नहुंदा २७ सय जना क्षमताको सम्मेलन केन्द्र उद्घाटन भएको ७ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पर्यटन व्यवसायमा निजी क्षेत्रले गरेको ४० अर्ब बढी लगानीले उचित प्रतिफल पाउन नसकेको र व्यवसायी निराश भएको पौडेलले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस