सुन्दरबजारका ४१ घरमा खानेपानीका धारा

सफल खबर संवाददाता

बुधबार, ०८ चैत्र २०७९, १२ : ३३
सुन्दरबजारका ४१ घरमा खानेपानीका धारा

लमजुङ । जिल्लाका तीनबटा पालिकामा कार्यरत गैर सरकारी संस्था सिआरएस, लुमन्ती र सप्रोस नेपालको संयुक्त कार्यक्रम पूनर्लाभ एवम् सामुदायिक उत्थानशिल (रिकभर) परियोजना अन्तर्गत निर्मित धुसेनी खानेपानी योजना हस्तान्तरण गरिएको छ ।

रिकभर परियोजनाअन्तर्गत सुन्दरबजार नगरपालिका  १०, धुसेनीमा ४१ धारा सहितको खानेपानीयोजना उपभोक्ताहरुलाई हस्तान्तर भएको हो ।  सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले आफूले विगतमा राजनीति शुरु गरेदेखि शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायतका विकासका कार्यमा प्राथमिकता दिंदै आएकोले यस्ता कार्यक्रम संचालन गर्न पाउँदा खुसी लागेको बताए । 

नगरप्रमुख कोइरालले आफ्नो घर गाउँमा आएको विकासका योजना संरक्षण गर्न सिक्नुपर्ने बताए । योजना सम्पन्न भएपछि त्यसको संरक्षण गर्ने जिम्मा उपभोक्ताहरुको रहेकोले दुरुपयोग हुन नदिई संरक्षण र मर्मत गर्न सक्ने संयन्त्र निर्माण गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्न अनुरोध गरे ।खानेपानी जीवनको प्रमुख आधार भएकोले अरुको लगानीको मात्र आश नगरी आगामी दिनमा आफूले अवसरलाई आयआर्जन सँग जोडेर काम गर्नुपर्ने बताए ।

कार्यक्रमको अवसरमा बोल्दै वडाअध्यक्ष दिपकराज ढकालले कार्यक्रम संचालन गर्नको लागि जनप्रतिनिधि लगायत परियोजनाले ठूलो लगानी गरेको भन्दै सधैं माग्ने मात्र नभई प्राप्त भएका उपलब्धीको संरक्षण गर्नुपर्ने औंल्याए ।रिकभर परियोजनाले १२ लाख ९८ हजार ९ सय २६ रुपैयाँको लागतमा सो क्षेत्रमा ४१ बटा धारा सहितको खानेपानी योजना निर्माण गरेको थियो । 

जोखिममा रहेका भूकम्प प्रभावितहरुको लागि पूनर्लाभ एवम सामुदायिक उत्थानशिल परियोजना (रिकभर) अन्तर्गत सुन्दरबजार नगरपालिकाको अतिरिक्त दोर्दी र दूधपोखरीमा समेत कार्यक्रम संचालन भइरहेका छन् । यसैअन्तर्गत सुन्दरबजारमा घर निर्माण, बाख्रा पालन, तरकारी खेती, खानेपानी योजना जस्ता कार्यक्रम परियोजनाले संचालन गरेको रिकभर परियोजनाका जिविकोपार्जन प्राविविध श्रीकान्त पौडेलले जानकारी दिए ।

रिकभर परियोजनाले घर निर्माणको लागि सामग्री उपलब्ध गराउने, ५० हजार रुपैयाँ सम्मको आर्थिक सहयोग गर्ने तथा पूरा घर निर्माण गर्ने गरी तीन किसिमबाट घर निर्माणमा सहयोग गर्दै आएको छ ।यसैगरी घरको पूननिर्माण गरिएका व्यक्तिहरुलाई सहयोग पुग्ने गरी जिविकोपार्जन अन्तर्गत तरकारी खेती, पशुपालन, कुखुरापालन, खानेपानी लगायतका कार्यक्रम संचालन गरेको सिआरएसका दामोदर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस