सांसद विनोद चौधरीको सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, २० : २१
सांसद विनोद चौधरीको सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

काठमाडौँ । बेलायती सांसद (हाउस अफ कमन्स) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने बारेमा प्रशिक्षण दिएका छन् ।

आइतबार काठमाडौँको होटल भिभान्तामा सांसदको भूमिकालाई संसदमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो । 

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए । सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारी रूपमा वहन गर्न सक्ने उनले बताए ।

कुनै पनि सांसदको सचिवालयले वहन गर्ने भूमिका बृहत्तर रूपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवश्यक रहेकोमा पनि उनले जोड दिए । ‘सांसद एक्लैले गरेर केहि हुँदैन । सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ,’ सांसद शर्माले भने, ‘बेलायती संसदमा रहेर काम गरिरहँदा मेरो अनुभव पनि यही हो । मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन ।’

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए । बेलायतमा सांसदलाई सरकारबाट चार जना कर्मचारीको व्यवस्था हुने गरेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस