मन्त्री श्रेष्ठ र बेलायतका सांसद शर्माबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, १४ : ३६
मन्त्री श्रेष्ठ र बेलायतका सांसद शर्माबीच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र बेलायती सांसद वीरेन्द्र शर्माबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार उपप्रधानमन्त्री श्रेष्ठ र सांसद शर्माबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भेटवार्ता भएको हो । सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति हुन् । भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायती स्थानीय सेना र ब्रिटिश गोर्खा सेनाबीच समानता हुनुपर्ने धारणा राखेका छन् । श्रेष्ठले समस्याको समाधान गर्ने विषयमा चासो राख्दै यसमा सांसद शर्माबाट विशेष सहयोगको अपेक्षा गरेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलकबाट स्तरोन्नति हुँदै गरेको प्रसङ्गमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै  नेपालले पाउँदै आएको सुविधा निरन्तर कायम राख्न अनुरोध गरे । जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उनले भने, ‘जलवायु परिवर्तनको असर र मार नेपालजस्तो मुलुकमा बढी परेको छ । बेलायतको भूमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगका बारेमा समेत चासो राखेका थिए । भेटका क्रममा बेलायती सांसद शर्माले ब्रिटिश गोर्खाको योगदान र भूमिकाको विषयमा आफू सकारात्मक रहेको बताउँदै समानताका विषयमा आवश्यक आवाज उठाइरहेको धारणा राखेका छन्। बेलायतका तर्फबाट असमान सुविधाको विषयमा सरकारी पक्षबाट अध्ययन भएको र ३ महिनामा यो विषयले निकास पाउने जानकारी दिँदै यसमा आफूले यथाशक्य सघाउने प्रतिबद्धता समेत सांसद शर्माले जनाए ।

प्रतिक्रिया दिनुहोस