अनेरास्ववियुका अध्यक्ष समिक बडाल

अनेरास्ववियुले जित्ने क्याम्पसहरूमा चुनाव बिथोल्न खोजिएको आरोप

सफल खबर संवाददाता

शुक्रबार, ०३ चैत्र २०७९, २० : ०९
अनेरास्ववियुले जित्ने क्याम्पसहरूमा चुनाव बिथोल्न खोजिएको आरोप

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सत्ताधारी विद्यार्थी सङ्गठनहरूले विभिन्न क्याम्पस र विश्वविद्यालयहरूमा आगजनी, तोडफोड र तालाबन्दी गरेर स्ववियु निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुक्रवार जारी गरेको विज्ञप्तिमा आफूले सहजताका साथ विजय हासिल गर्ने क्याम्पसहरूमा क्याम्पस प्रमुख र निर्वाचन समितिका प्रमुखहरूलाई सुरक्षा चुनौती हुने गरी सत्ताधारी दल निकट विद्यार्थीहरूले गतिविधि गरिरहेको आरोप लगाइएको छ । 

‘देशका सबैभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, वाल्मीकि क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पोखरा वन क्याम्पस, सिद्धनाथ साइन्स क्याम्पस, चितवन ई कलेज लगायत आंगिक क्याम्पसहरू र अत्यधिक विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक क्याम्पसहरूमा सत्ताधारी संघ संगठनहरु अनेकौँ बहनाबाजी गर्दै निर्वाचन टार्ने अभियानमा दौडिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र विद्यार्थीहरूको मौलिक हक अधिकार विरुद्ध भइरहेका यस्ता गतिविधिहरूको पक्षमा नेपाल सरकार रहेको हामीलाई आभास भइरहेको छ ।’

अनेरास्ववियुले तत्काल सम्पूर्ण विश्वविद्यालय र क्याम्पसहरूमा निर्वाचनको प्रक्रिया अघि बढाउन माग समेत गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस