तेस्रो स्थानका लागि इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा

सफल खबर संवाददाता

शनिबार, ३० असार २०७५, १५ : ०७
तेस्रो स्थानका लागि इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा

रसिया विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुदैछ । तेस्रो स्थानको खेल नेपाली समय अनुसार ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा युरोपका दुई बलिया राष्ट्र इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुनेछ ।

यी दुई टोली जारी विश्वकपमा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । गोल्डेन जेनेरेसन मानिएको बेल्जियम टोलीले इङ्ल्यान्डलाई १–० ले हराउँदै समूह ‘जी’ को विजेता बनेको थियो । इङ्ल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो ।

समूह चरणको त्यो अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको थियो । एडनान यानुजाईको एकमात्र गोलमा बेल्जियम विजयी भएको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा हुनेछन् ।

समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरिसकेका कारण बेल्जियम यसपटक पनि सफल नतिजा निस्कानेमा आशावादी छ । इङ्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ । फर्ममा रहेका तथा गोल्डेनबुटका दाबेदार कप्तान ह्यारी केन खेलमा चल्न सके इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने सम्भावना रहन्छ ।

केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् । बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले तथा इंग्ल्यान्ड क्रोएसियासँग थप समयमा समयमा २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए । फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्ने इतिहास रच्ने योजनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस