मातृका यादवले किन गरे प्रदेश कमिटिको बैठक बहिष्कार ?

सफल खबर संवाददाता

मंगलबार, ३० फागुन २०७९, ११ : ०६
मातृका यादवले किन गरे प्रदेश कमिटिको बैठक बहिष्कार ?

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवले प्रदेश कमिटीको बैठक बहिस्कार गरेका छन् । माओवादी मधेस प्रदेश कमिटीको तीन दिन चलेको बैठकमा यादव बैठकमा अनुपस्थित भएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबारदेखि तीन दिनसम्म चलेको बैठकमा यादव सहभागी नभएका हुन् । मधेस प्रदेशमा विवाद हुँदा प्रदेश कमिटी समेत बन्न सकेको छैन । प्रदेशका इन्चार्ज गणेश साह मात्रै छन् भने अरू सदस्य मात्रै राखिएको छ । अधिकांश जिल्ला र स्थानीय तहमा नेतृत्व नहुँदा माओवादी कमजोर भएको छ । जसले गर्दा सङ्घीय संसद्मा शून्य भयो भने प्रदेश र स्थानीय तहमा निक्कै कमजोर हुन पुग्यो । 

अहिले मधेस प्रदेशको विवाद हुँदा २ महिने अभियान समेत प्रभावकारी हुन सकेको छैन । पार्टीको २ महिने पार्टी विस्तार र सङ्गठन सुदृढीकरण अभियान चलाएपछि प्रदेश सहित जिल्ला र स्थानीय तह कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ ।   

मधेस प्रदेश कमिटीको बैठकमा पार्टीका पदाधिकारी सहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यहरू सहभागी भएका थिए । तर, बैठकमा यादव सहभागी नभएपछि प्रधानमन्त्री प्रचण्डले समेत आक्रोश पोखेको एक नेताले बताए । मधेसको विवाद समाधान होला भनेर राखिएको बैठकमा यादव सहभागी नभएपछि प्रचण्ड चिढिएका हुन् । मधेसमा गिरिराजमणि पोखरेल र यादवबिच विवाद हुँदा पार्टी कमजोर भएको छ ।

यादव बिरामी भएकाले अनुपस्थित भएको पार्टी केन्द्रीय सदस्य अजयशंकर नायकले बताए । 'बैठकमा पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई बोलाएको थियो । हामी बैठकमा सहभागी भयौँ’ नायकले भने,‘उहाँ (मातृका यादव) बिरामी भएकाले आउनु भएन भन्ने सुनियो ।’  

यता पार्टी उपमहासचिव मातृका यादवले बैठक बेला आफू गृह जिल्ला धनुषा गएकाले उपस्थित हुन नसकेको प्रतिक्रिया दिए । ‘प्रदेश समितिको बैठकको सूचना आएको थियो । त्यो बेला ठ्याक्कै घर गएको थिए । त्यसैले बैठकमा उपस्थित हुन सकिन’ यादवले भने, ‘ पार्टीमा कुनै विवाद भएर अनुपस्थित भएको होइन ।’

प्रतिक्रिया दिनुहोस