सफल खबरका सुमनलाई डिल्लीराम धनसरा प्रतिभा पुरस्कार

सूर्यप्रकाश कँडेल

शुक्रबार, २९ असार २०७५, १४ : ३४
सफल खबरका सुमनलाई डिल्लीराम धनसरा प्रतिभा पुरस्कार

तस्बिरहरु : सुरेन कुँवर

चितवन । सफल खबर डट कमका काठमाडौं संवाददाता सुमनराज श्रेष्ठलाई शुक्रबार एक समारोहबीच डिल्लीराम धनसरा प्रतिभा पुरस्कार अर्पण गरिएको छ । सम्मानपत्र, दोसल्ला र नगदसहित कवि एवं पत्रकार श्रेष्ठलाई पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानित गर्नु भएको हो ।
शारदा स्मृति प्रतिष्ठान र जनसाँस्कृतिक महासंघ चितवनले शुक्रबार चितवनको कृष्णपुरमा आयोजना गरेको शारदा घरदैलो प्रतिभा प्रवाह १५३औं श्रृंखला, शारदा स्मृति पुरस्कार तथा डिल्लीराम धनसरा प्रतिभा पुरस्कार वितरण समारोह एवम् खुसीराम पाख्रिन परिवारको सम्मानमा अभिनन्दन र साँस्कृतिक कार्यक्रममा श्रेष्ठलाई पुरस्कृत एवं सम्मानित गरिएको हो । 
प्रगतिवादी कवि पोषराज पौडेलले आफ्ना मातापिताको नाममा स्थापना गर्नु भएको डिल्लीराम धनसरा प्रतिभा पुरस्कार प्राप्त गरेका कवि श्रेष्ठ प्रगतिशील लेखक संघ चितवन शाखा अध्यक्ष र नेपाल पत्रकार महासंघ चितवन शाखा साधारण सदस्य हुनुहुन्छ । उहाँको कविता कृति ‘सपनाहरूको ह्याङ्गओभर’ २०७१ सालमा प्रकाशित भएको छ ।


कार्यक्रममा चितवनका पुराना वामपन्थी नेता ९२ वर्षीय खम्बासिंह कुँवरलाई शारदा स्मृति पुरस्कार अर्पण गरिएको छ । दशवर्षे जनयुद्धको दौरान सांस्कृतिक मोर्चामा रहेर काम गर्नु भएकी शारदा श्रेष्ठ २०६१ साल असार २९ गते तत्कालीन शाही सेनाको हिरासतमा रहँदा मारिनु भएको थियो । उहाँकै स्मृतिमा गठित प्रतिष्ठानले जनस्तरबाट रकम संकलन गरेर स्थापना गरेको स्मृति पुरस्कार यस वर्ष पुराना वामपन्थी नेता कुँवरलाई नेकपा अध्यक्ष प्रचण्डले अर्पण गर्नु भई दोसल्ला र सम्मानपत्रबाट सम्मानित गर्नु भएको हो ।


यसैगरी, जनवादी गायक एवं संगीतकार खुसीराम पाख्रिन परिवारको सम्मानमा पाख्रिनकी धर्मपत्नी सुकमाया तामाङलाई अभिनन्दन गरिएको छ । जनसाँस्कृतिक महासंघ चितवनले तामाङलाई अभिनन्दनपत्रले अभिनन्दन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा अध्यक्ष प्रचण्डले तामाङलाई खदा ओढाएर अभिनन्दनपत्र हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस