राजनीतिक उपलब्धिलाई सेबोटेज गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

सूर्यप्रकाश कँडेल

शुक्रबार, २९ असार २०७५, १३ : ५८
राजनीतिक उपलब्धिलाई सेबोटेज गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पछिल्ला दिनमा राजनीतिक उपलब्धिलाई सेबोटेज गर्ने षडयन्त्र भइरहेको बताउनु भएको छ ।
शारदा स्मृति प्रतिष्ठान र जनसाँस्कृतिक महासंघ चितवनले शुक्रबार चितवनको कृष्णपुरमा आयोजना गरेको शारदा घरदैलो प्रतिभा प्रवाह १५३औं श्रृंखला, शारदा स्मृति पुरस्कार तथा डिल्लीराम धनसरा प्रतिभा पुरस्कार वितरण समारोह एवम् खुसीराम पाख्रिन परिवारको सम्मानमा अभिनन्दन र साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘समृद्धि र समाजवादको बाटोमा अघि बढ्ने क्रममा विकास निर्माणका कामहरु हुन लागेको देखेर सरकारलाई असफल बनाउने प्रयास भइरहेको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कहिले के कहिले के घटनालाई उछालेर राजनीतिक उपलब्धिलाई सबोटेज गर्ने षडयन्त्र भइरहेको छ ।’ जनताको लोकप्रिय मतद्वारा दुईतिहाईको शक्तिशाली कम्युनिष्ट सरकार बनेपछि पुँजीवादीहरु आत्तिएर षडयन्त्रमा जुटेको उहाँको आरोप छ ।
‘नेपालमा कम्युनिष्टहरु दुईतिहाईको अवस्थामा आउनु पुँजीवादीहरुलाई आश्चर्यको विषय भएको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उनीहरु आत्तिएका छन् ।’ असाधारण पहलमार्फत् पार्टी एकताद्वारा शक्तिशाली कम्युनिष्ट सरकार बनाउन सफलता प्राप्त भएको उहाँको भनाइ थियो । पार्टी एकतापछि सबैको जिम्मेवारी, गौरव र चुनौती बढेको धारणा सुनाउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यो एउटा उपलब्धि हो । नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टीको सरकार बनेको घटना विश्वभरका कम्युनिष्टहरुको लागि प्रेरणाप्रद छ । अब हामीले विश्व कम्युनिष्ट आन्दोलनको आकांक्षा अनुसार काम गर्नुपर्छ ।’


एकीकृत पार्टीको केन्द्रीय तहमा पद र जिम्मेवारी बाँडफाँट एवं समायोजनको काम सकिएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले साउन महिनाभित्र प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी एवं जनवर्गीय संगठनहरुको एकता सम्पन्न गरिने बताउनु भयो । भदौ र असोजमा देशभर प्रशिक्षण कार्यक्रम र सबै प्रदेशमा विशाल जनसभा आयोजना गरिने उहाँले बताउनु भयो । यी कार्यक्रमको माध्यमबाट सरकारले गरेका काम सबै जनताबीच स्थापित गरिने उहाँले बताउनु भयो ।
श्रीमती सीता दाहालको उपचारका क्रममा हङकङमा दुई हप्ता बिताउँदा आफू विकासकै बारेमा चिन्तित बनेको उहाँले बताउनु भयो । ‘सिंगापुरमा दुई हप्तासम्म बस्दा सिंगापुरको विकास कसरी भएको रहेछ ? भन्ने बुझ्ने मौका पाएँ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जमिनको सदुपयोग, पर्यटकीय संरचना, समाजमा अनुशासन कायम गर्न बनाइएको नियम, कानून बुझ्ने प्रयास गरेँ ।
भरतपुर महानगरपालिकाभित्र रहेको नगर वनलाई सिंगापुरको सन्तोसा टापुसँग तुलना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नगर वनलाई आइल्याण्डको रुपमा विकास गर्न सकियो भने यसले विश्वका पर्यटकलाई आकर्षित गर्ने उहाँको भनाई थियो । अबको एक दशकमा चितवन विकासको दृष्टिले अन्य जिल्लाभन्दा फरक हुने उहाँको भनाइ थियो । साहित्यिक प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘साहित्यमा रुचि हुँदाहुँदै पनि राजनीतिको चटारोले साहित्यमा लाग्न सकिएन ।’

प्रतिक्रिया दिनुहोस