प्रदेश १

समाजवादी र जसपाद्वारा ´किरात-लिम्बुवान-सगरमाथा प्रदेश` प्रस्ताव दर्ता

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, १३ : ४१
समाजवादी र जसपाद्वारा ´किरात-लिम्बुवान-सगरमाथा प्रदेश` प्रस्ताव दर्ता

माेरङ  । प्रदेश १ को प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा ´किरात-लिम्बुवान-सगरमाथा प्रदेश` नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

उक्त नामकरणका लागि दर्ता गरिएकाे प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका छन् ।

प्रस्तावक राईले सुरूमा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बाेले छुट्टै प्रस्ताव दर्ता गराउने सहमति गरे पनि दर्ता गराउने बेलामा पन्छिएकाे आराेप लगाए ।यसअघि प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ दल एमालेले संयुक्त रूपमा ´काेशी प्रदेश` नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुईवटा नाम सदनमा प्रस्ताव हुने भएकाे हाे । प्रदेश १ का सभामुख बाबुराम गाैतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका थिए ।

६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदकाे समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस