डीएसपी कोजुलाई सेवाबाट हटाउने गृहमन्त्रालयको तयारी

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, १० : २७
डीएसपी कोजुलाई सेवाबाट हटाउने गृहमन्त्रालयको तयारी

काठमाडौं । गृहमन्त्रालयले प्राविधिकतर्फ कार्यरत सशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डीएसपी)लाई विभागीय कारबाहीको तयारी थालेको छ ।

गैरहाजिर भएका डीएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि सशस्त्र गृहमन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो ।डीएसपी कोजु गत मंसिर ११ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए । उनी हाजिर नभएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सूचना टाँस गरेको थियो तर उनी सम्पर्कमा आएनन् ।

कोजु सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउनका आवश्यक कारबाहीको लागि गत पुस २५ गते गृहमन्त्रालयलाई अनुरोध गरी पत्र पठाएको थियो ।सशस्त्रको पत्र अनुसार प्रक्रिया अघि बढाउन गृहमन्त्रालयले पनि माघ ५ गते सात दिनभित्र कारणसहित सफाइ पेस गर्न सूचना निकालेकोमा कोजुले संचित बिरामी बिदा स्वीकृत गरेर क्यानडामा उपचार गराइरहेको इमेल गरेका थिए ।

तर, कोजुले इमेलमा पठाएको निवेदन सन्तोषजनक नभई सशस्त्र प्रहरी नियमावली २०७३ विपरीत भएको गृहमन्त्रालयले ठहर गरेको छ ।

उनलाई नियमावली विपरीत काम गरेको भन्दै गृहमन्त्रालयले पुन: किन विभागीय कारबाही नगर्ने भनी सात दिने स्पष्टीकरण मागेको छ ।

प्रतिक्रिया दिनुहोस