महिला ट्वान्टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

एजेन्सी

सोमबार, १५ फागुन २०७९, ०७ : ०३
महिला ट्वान्टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

एजेन्सी । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको उपाधिमा अस्ट्रेलियाले दोस्रोपटक ह्याट्रिक गरेको छ।

दक्षिण अफ्रिकाको केप टाउनमा आइतबार सम्पन्न फाइनलमा घरेलु टोली १९ रनले हराउँदै अस्ट्रेलियाले छैठौ पटक विश्वकपको उपाधि जितेको हो।

साबिक विजेतासमेत रहेको अष्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो।

दक्षिण अफ्रिकाका लागि लोरा वालभाल्टले ४८ बलमा ६१ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरिन्। चलोइ ट्रायोनले २५ तथा मरिजानी कप्पाले ११ रन बनाईन्। 

अष्ट्रेलियाका लागि जीस जोनासेन,ड्रासिक ब्राउन,मिगान स्कुट र एशले गार्डनिरले समान १-१ विकेट लिईन्।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । 

अष्ट्रेलियाका लागि बेथ मुन्नीले ५३ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाईन् । एशले गार्डनिर २९ रनमा आउट हुँदा अस्लेसा हिल्लीले १८ रन बनाईन् । 

दक्षिण अफ्रिकाका लागि मरिजानी कप्पा र शबनिम स्मालीले समान २/२ विकेट लिईन्। 

सन् २००९ देखि सुरु भएको विश्वकपको आठ संस्करण समाप्त हुँदा अस्ट्रेलियाले ६ संस्करणको उपाधि जितेको छ।

पहिलो संस्करणबाहेक सबै संस्करणको फाइनल खेलेको अस्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ को उपाधि जित्दै ह्याट्रिक गरेको थियो।

यस्तै सन् २०१६ को विश्वकपको फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको अस्ट्रेलियाले त्यसपछि भने सन् २०१८, २०२० र अहिले २०२३ को उपाधि जित्दै विश्वकपमा दोस्रोपटक ह्याट्रिक गरेको हो। 

प्रतिक्रिया दिनुहोस