यसरी पाउन सक्छ विश्वकपले नयाँ विजेता

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०७५, १४ : ३२
यसरी पाउन सक्छ विश्वकपले नयाँ विजेता

मस्को ।  २१ औँ विश्वकप फुटबलका सेमिफाइनल खेलहरु मंगलबारेदेखि सुरु हुँदैछन्। पहिलो दिन फ्रान्स र बेल्जियम तथा दोस्रो दिन क्रोएसिया र इंग्ल्याण्ड भिड्नेछन्। फ्रान्स र इंग्ल्याण्ड पूर्व विजेता हुन्। क्रोएसिया र बेल्जियम विश्वकपमा अहिलेसम्म फाइनल समेत पुग्न सकेका छैनन्।

सेमिफाइनलमा बेल्जियमले फ्रान्सलाई तथा क्रोएसियाले इंग्ल्याण्डलाई हराउन सके विश्वकपले नयाँ विजेता पाउने छ। फाइनलमा एउटामात्र पनि नयाँ टोली पुग्न सके विश्वकपले नयाँ विजेता पाउने सम्भावना रहन्छ।

यसअघि सन् २०१० को विश्वकपले स्पेनका रुपमा  नयाँ विजेता ल्याएको थियो। त्यतिबेला सेमिफाइनलको खेल लगत्तै विश्वकपले नयाँ विजेता पाउने तय भएको थियो।

दुई पूर्व विजेता उरुग्वे र जर्मनीलाई सेमिफाइनलमै रोकेर स्पेन र नेदरल्यान्ड्स फाइनल पुगेका थिए। स्पेन पहिलोपटक र नेदरल्यान्डस तेस्रोपटक विश्वकपको फाइनलमा पुगेको थियो।

विश्वकपका २० संस्करण सकिँदासम्म ८ देशले मात्र उपाधि जितेका छन्। ब्राजिल पाँचपटक, जर्मनी र इटाली चार/चार पटक, उरुग्वे र अर्जेन्टिना दुई/दुई पटक तथा स्पेन,इङ्ल्यान्ड र फ्रान्स एक/एक पटक विश्वकप विजेता बनेका छन्। हंगेरी र चेकोस्लोभाकिया दुई/दुई पटक तथा स्वीडेन एकपटक फाइनल पुगेर पनि उपाधि जित्न असफल भएको थियो।

स्पेन विश्व विजेता बन्नुअघि विश्वकपले सन् १९९८ मा मात्र नयाँ विजेता पाएको थियो,फ्रान्सका रुपमा। त्यतिबेला फ्रान्सले साविक तत्कालीन साबिक विजेता ब्राजिललाई फाइनलमा हराएको थियो।

त्यसअघि सन् १९७८ मा मात्र नयाँ विजेता पाएको थियो,अर्जेन्टिनाका रुपमा। अर्जेन्टिनाले फाइनलमा लगातार दोस्रोपटक पुगेको नेदरल्यान्डसलाई पराजित गरेको थियो।

क्रोएसिया र बेल्जियम यसअघि सेमिफाइनलसम्म पुगेका छन्। क्रोएसिया सन् १९९८ र बेल्जियम सन् १९८६ मा सेमिफाइनलसम्म पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस