आज लुम्बिनी प्रदेश सरकार स्थापना दिवस, प्रदेशमा सार्वजनिक बिदा

सफल खबर संवाददाता

बुधबार, ०३ फागुन २०७९, ०७ : ०८
आज लुम्बिनी प्रदेश सरकार स्थापना दिवस, प्रदेशमा सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार स्थापना दिवस मनाउने भएको छ। बुधबार दिउँसो राप्ती उपत्यका देउखुरीमा औपचारिक समाराेहकाे आयाेजना गरेर दिवस मनाउन थालेकाे हाे।

२०७४ साल फागुन ३ गते लुम्बिनीमा पहिलो पटक सरकार गठन भएको थियाे। याे पाँच वर्षकाे अवधिमा प्रदेशमा तीनवटा सरकार बनेका छन्। मुख्यमन्त्री लीला गिरीले प्रदेशमा १० मन्त्रालय बनाएका छन्।

२०७८ साउन २७ गते शंकर पोखरेल नेतृत्वको सरकार विस्थापन गरी कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै लुम्बिनीमा मन्त्रालयको संख्या बढाइएको थियो। २०७४ को निर्वाचनपछि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैँसँग राखेर पाँचवटा मन्त्रीसहितको मन्त्रिपरिषद् बनाए।

पछि राजनीतिक उत्तारचढावसँगै नौ मन्त्रालय र एक राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिमण्डल बनेको थियो। नेकपा माओवादीका केसी मुख्यमन्त्री भएपछि भागबन्डा पुर्‍‍याउन नौबाट मन्त्रालयको संख्या बढाएर १३ र चार राज्यमन्त्री गरेर १७ सदस्यीय जम्बो मन्त्रिमण्डल बनेको थियो।

मंगलबार बसेकाे प्रदेश मन्त्रिपरिषद्काे बैठकले प्रदेश सरकार स्थापना दिवसलाई भव्य बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिए। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ।

मुख्यमन्त्री लीला गिरीले अवकाे पाँच बर्ष जनताको जिविकाेपार्जन बढाउन प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।