चेम्बरको ९ बुँदे सुझाव : ऋणीलाई असार मसान्तसम्म म्याद दिइयोस्

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, १५ : २०
चेम्बरको ९ बुँदे सुझाव : ऋणीलाई असार मसान्तसम्म म्याद दिइयोस्

काठमाडौँ । पुसमा साँवा र ब्याज तिर्न नसकेका ऋणीहरूका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्थाका लागि चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैङ्क समक्ष आग्रह गरेको छ । मौद्रिक नीतिको मध्यावधि समीक्षाका लागि ९ बुँदे सुझाव दिने क्रममा चेम्बरले २०८० असाढ मसान्त सम्म साँवा र ब्याजको पुनर्तालिकीकरण गर्नुपर्ने बताएको हो  ।

यसअघि उत्पन्न तरलता सङ्कटसँगै चर्को ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्पप्राय रहेकाले अधिकांश ऋणीहरू समस्यामा परेको चेम्बरको ठहर छ । मौद्रिक समीक्षा मार्फत साँवा र ब्याजदरको पुनर्तालिकीकरण गर्न सकिए वित्तीय स्थायित्व कायम हुने चेम्बरले जनाएको छ । बैङ्क वित्तीय संस्थामा एकल दरको ब्याजदर कायम गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न एकल अङ्कको ब्याजदर कायम गरिनुपर्छ ।’ यस्तै चालु पुँजी कर्जा सम्बन्धमा साना ठुला दुवै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पु¥याई उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत चेम्बरले माग गरेको छ ।

बैङ्क वित्तीय संस्थाले बेस रेटमा लिने प्रिमियममा अधिकतम २ प्रतिशत सम्म कायम गर्न पनि चेम्बरले आग्रह गरेको छ ।यसै गरी रेमिट्यान्सलाई बैङ्किङ च्यानलबाट मात्रै आउने वातावरण बनाउन आकर्षक प्याकेज ल्याउनुपर्नेमा चेम्बरले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस