एनआईसी एशियाको दोस्रो त्रयमासिक वित्तीय नतिजा प्रकाशित

सफल खबर संवाददाता

आइतबार, ०८ माघ २०७९, १४ : ३३
एनआईसी एशियाको दोस्रो त्रयमासिक वित्तीय नतिजा प्रकाशित

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकका अनुसार समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कूल कर्जा रकम २६६ दशमलव ६८ अर्ब रुपैयाँ पुर्‍याउँन सफल भएको छ । साथै, निक्षेपतर्फ कूल निक्षेप संकलन ३०८ दशमलव ७० अर्ब पुर्‍याउँन बैंक सफल भएको छ । बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ ३ दशकलव २७ अर्ब आर्जन गर्न सफल भएकोे छ । यो वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि रहेको बैंकले जनाएको छ । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २४ दशमलव ७५ प्रतिशत रहेको छ ।

साथै वार्षिक प्रति शेयर आम्दानी ५६ दशमलव ७७ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रयमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कूल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा एन आई सी एशिया बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस