तिलकसिंह पेलाको गजल ‘के लत बस्यो’ भाइरल

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, १३ : ०७
तिलकसिंह पेलाको गजल ‘के लत बस्यो’ भाइरल

काठमाडौं । गजलकार प्रदीपकुमार मैनालीको रचना, गायक तथा संगीतकार तिलकसिंह पेलाको संगीत र स्वरमा रहेको गजल ‘के लत बस्यो’ अहिले भाइरल भएकाे छ ।

याे गजल केही दिनयता सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको हाे । शास्त्रीय संगीतको धुनमा रहेको यो गीतले लाखौं मानिसको मन जितिरहेको छ । ६ दिन अगाडि तिलकसिंह पेला नामक युट्युब च्यानलबाट अपलोड भएको गजलले याे समाचार बनाउँदासम्म ७ लाख भन्दा बढी भ्युज पाइसकेको छ ।

छोटो समयमा लाखौं मानिसको मन जित्न सफल गजलको भिडियोमा कुनै पनि अभिनेता वा अभिनेत्रीको अभिनय छैन् । भिडियोमा गायक तिलकसिंह स्टुडियोको अगाडि उभिएर गजल गाएका छन् । लोक, पप, र्‍याप र आधुनिक गीतले नेपाली संगीत क्षेत्रमा वर्चश्व जमाइरहेका बेला शास्त्रीय संगीतमा गाइएको यो गजल भाइरल भइरहेको छ।

गीतका शब्द मात्र होइन यसको शास्त्रीय संगीत र गायक तिलकसिंहको स्वरको मधुरतालाई सबैले तारिफ समेत गरिरहेका छन्। बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका तिलकसिंहले भारतको शहर बनारसबाट शास्त्रीय संगीत सिकेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस