कथा मन परेपछि मेरो खुसीको लागि बबी बनाएँ : निर्देशक चाम्स

सूर्यप्रकाश कँडेल

बुधबार, २० असार २०७५, १५ : ४३
कथा मन परेपछि मेरो खुसीको लागि बबी बनाएँ : निर्देशक चाम्स

चितवन । विश्वको दोस्रो ठूलो फिल्म इण्डष्ट्री मानिएको भारतमा सन् १९७३ मा राज कपुरको निर्माण र निर्देशनमा एउटा फिल्म बन्यो बबी । सुपरडुपर हिट बबीमा नायक ऋषि कपुर र नायिका डिम्पल कपाडियाको अनस्क्रिन रोमान्स छ । ४५ वर्षअघिको यही फिल्मको नाम हुबहु लिएर नेपाली फिल्म इण्डष्ट्रीका उदीयमान निर्देशक मिलन चाम्सले नेपाली कथानक चलचित्र बबी बनाएका छन् । 
बबीको प्रचारप्रसारका लागि बुधबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चाम्सले आफ्नो पहिलो चलचित्र हँसियाको निर्माण र पछिल्लो चलचित्र बबीको निर्माण एवं निर्देशन आफ्नो खुसीको लागि गरेको बताए । कमाईको हिसाबले हँसिया असफल भएपनि चाम्स निर्देशित वीर विक्रम र लिलीबिलीले राम्रै कमाई गरे । बबी कस्तो बनेको छ त ? निर्देशक चाम्स भन्छन्, ‘कथा मन परेपछि मैले मनले बनाएको फिल्म हो, राम्रो बनेको छ ।’


असार २९ गते अलनेपाल रिलिज हुन गइरहेको बबी चलचित्रका नायक हुन् उमेश थापा, अनि नायिका हुन् कविता गुरुङ । बबीको कथा उनीहरुको निजी जीवनको कथा हो । १४ वर्षीय छोरोसहित पत्रकार सम्मेलनमा उपस्थित कविता र उमेशले यस फिल्ममा पैसा होइन, मिहिनेत लगाएको बताए । आफ्नै कथामा बनेको फिल्ममा आफैले अभिनय गर्न पाउँदा निकै खुसी लागेको उनीहरुको भनाइ थियो ।


चलचित्र बबीमा नायिकाको काकाको भूमिका निर्वाह गरेका अभिनेता विजय लामाले आफ्नो कथामा आफैले अभिनय गरेर फिल्म बनाउनु राम्रो कुरा भएको बताए । विगतको तुलनामा अहिले प्रतिस्पर्धा धेरै भएको बताउँदै उनले धेरै चलचित्र निर्माण हुँदा आर्थिकरुपमा फाइदा नै हुने विचार व्यक्त गरे । बबीमा कविता र उमेशले जीवन्त अभिनय गरेको र यसको कथाले विदेशमा बस्ने नेपालीहरुलाई छुने लामाले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस