भलिबल : विभागीय टोलीको विजयी शुरुवात

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, १९ : ५५
भलिबल : विभागीय टोलीको विजयी शुरुवात

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले आइतबारबाट काठमाडौंमा शुरु भएको सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा पुरुषतर्फको आर्मीले दावाली मिलन केन्द्रलाई र नेपाल पुलिसले न्युटन भलिबल एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै सुखद् शुरुवात गरेका हुन् । 

यस्तै महिलातर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लब र आर्मीले कृष्ण सेकेण्डरी एकेडेमीमाथि जित निकालेका हुन् । पुरुषतर्फ विभागीय टोली आर्मीले तीन भारतीय खेलाडी सम्मिलित दावाली मिलान क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । 

पहिलो सेटबाट दावालीमाथि २५–२० को सहज जित निकालेको आर्मीले दोस्रो सेटमा भने मेहनत गर्नुपरेको थियो । दोस्रो सेटमा आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२१ को जित निकालेको हो । १०–१५ ले पछि परेको आर्मीले दावालीविरुद्ध  १९–१९ मा भेटाउँदै नतिजा उल्टाउन सफल भएको थियो । त्यसपछि दावालीले २ अंक मात्रै जोड्दा आर्मीले दोस्रो सेटमा बाजी मारेको थियो । 

दुई सेट जितिसकेको अवस्थामा उच्च मनोबलका साथ खेलेको आर्मीले तेस्रो सेट पनि २५–२१ ले पक्षमा पार्दै प्रतियोगिताको पहिलो खेलमा सुखद् नतिजा निकालेको हो ।

यससँगै आर्मीले समूह ‘ए’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मी र दावालीसँगै मणि मुकुन्द भलिबल क्लब रहेका छन् । प्रतियोगिता अन्तर्गत आइतबार नै पुरुषतर्फ समूह ‘सी’ को खेलमा नेपाल पुलिस क्लबले न्युटन भलिबल एकेडेमीलाई २५–१६, २५–१७ र २५–१६ ले पराजित ग¥यो । 

यससँगै पुलिसले पनि आइतबारबाट शुरु भएको प्रतियोगितामा विजयी शुरुवात गरेको छ । यस जितपछि पुलिसले समूह ‘सी’ मा ३ अंक जोडेको छ । यो समुहमा पुलिससँगै गण्डकी, न्युटन, ढोरपाटन र गण्डकी रहेका छन् ।

प्रतियोगिता अन्तर्गत आइतवारै सम्पन्न महिलातर्फको प्रतिष्पर्धामा आर्मीले कृष्ण सेकेण्डरी एकेडेमीमाथि एकतर्फी खेल देखायो । पहिलो सेटमा २५–३ को न्युन स्कोरबाट नतिजा निकालेको आर्मीले दोस्रो सेटमा २५–५ र तेस्रो सेटमा २५–१० को एकपक्षीय नतिजा निकाल्यो । 

यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंकको खाता खोलेको छ । आर्मी सम्मिलित समूहमा अर्को विभागीय टोली एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेण्डरी एकेडेमी छन् । दिनको पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले नयाँबजार सामाजिक युवा क्लबलाई पनि १० स्कोर भित्र समेट्दै सोझो सेटमा जित निकाल्यो । पहिलो सेटमा २५–१० को स्कोरमा नतिजा निकालेको पुलिसले दोस्रो सेटमा २५–६ र तेस्रो सेटमा २५–८ को नतिजाबाट खेल जित्दै सुखद् शुरुवात गरेको हो । 

यससँगै पुलिसले पनि ३ अंक जोडेर तालिकामा खाता खोल्यो भने नयाँ बजार सामाजिक युवा क्लबले हारबाट प्रतियोगिताको  आरम्भ गरेको छ । पुलिस र नयाँबजार सामाजिक युवा क्लब रहेको यस समूहमा एभरेष्ट भलिबल क्लब र न्यु डायमण्ड  स्र्पोट्स क्लब रहेका छन् ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सोमवार महिलातर्फ न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र नयाँ बजार सामाजिक युवा क्लब तथा एभेरेस्ट भलिबल क्लबविरुद्ध नेपाल पुलिस क्लवबीच खेल हुनेछ । 

यस्तै पुरुषतर्फ पहिलो खेल टिप टप हेल्प नेपाल स्पोट्र्स क्लब दोस्रो खेल बुढानिलकण्ठ भलिबल क्लब, तेस्रो खेल केशवलाल मेमोरियल भलिबल क्लब र मधेस प्रदेश, चौथो खेल आर्मी र मणिमुकुन्द भलिबल क्लब तथा अन्तिम खेल एपिएफ क्लब र जावलाखेल भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।