गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, १४ : २२
गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

बुटवल । गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार मध्यान्ह १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन–ए एल ओ  जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो ।

जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, क्षेत्र नं. २ का सांसद गोकर्ण विष्ट, रामकुमारी झांक्री लगायतका यात्रु थिए ।

जहाज हेर्न विमानस्थलमा ठूलो भीड लागेको छ । लामो समयको प्रतिक्षापछि रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि गुल्मीबासी खुसी भएका छन् ।

यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गरिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द भएको उल्लेख गरेका छन् ।

रेसुङ्गा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ । यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा छ । रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको जहाज मात्र जान सक्छ ।

तारा एयरले शुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्ने भएको छ । आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस