सरकारबारे नेकपा एस अनिर्णित, वामपन्थी दलहरूसँग एकता गर्ने जिम्मा सचिवालयलाई

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, १६ : २५
सरकारबारे नेकपा एस अनिर्णित, वामपन्थी दलहरूसँग एकता गर्ने जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो निष्कर्षविहीन टुंगिएको छ । मंगलरबार प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता हुने कि नहुनेबारे बसेको नेकपा एसको बैठक निष्कर्षविहीन टुंगिएको हो।

बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको भनाइ थियो । तर, पार्टी अध्यक्ष माधवकुमार नेपालले भने नेताहरुको कुरामा असहमति जनाउँदै सरकारमा जान अस्वीरका गरे ।

पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन थप अध्ययन गर्नुपर्ने भएकाले बैठकले निचोड ननिकालेको बताए । उनले भने, ‘सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भयो । अब सरकारको नीति र कार्यक्रम हेरेर समर्थन र विरोध गर्ने निर्णय यो बैठकले सचिवालयलाई दिएको छ ।’

साथै, प्रवक्ता खतिवडाले सरकारमा सहभागिताका लागि अहिलेसम्म कतैबाट औपचारिक प्रस्ताव नआएको पनि बताएका छन् । खतिवडाले भने,‘ ‘उहाँहरूसँगै बहुमत छ। अहिले हामीलाई औपचारिक प्रस्ताव आएको छैन । त्यसबारेमा अब सचिवालयले निर्णय गर्छ ।’