सर्लाहीको चुरेमा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान जारी

सफल खबर संवाददाता

सोमबार, १८ पुस २०७९, १९ : ०९
सर्लाहीको चुरेमा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान जारी

सर्लाही  । सर्लाहीको चुरेमा प्रहरीले गाँजा फाँड्ने अभियान थालेको छ । आइतबार मात्र प्रहरीले आठ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको हो । सोमबार पनि गाँजा फाँड्नका लागि प्रहरी परिचालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चुरे भेगमा पर्ने लालबन्दी नगरपालिका–१४ नारायण खोलास्थित सत्रकट्ठामा ८ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । जिल्ला र इलाका प्रहरी कार्यालय लालबन्दीबाट ६० जना प्रहरी टोली आइतबार अबेर राति गाँजा फाँडेर फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाँजा खेतीमा प्रतिबन्ध लगाए पनि स्थानीयले भने पाक्न थालेको गाँजा प्रहरीले एक्कासि आएर फाँड्दा आफूहरु मारमा परेको जनाएका छन् । यता प्रहरीले भने कानुनमा निषेध गरिएको गाँजा खेतीलाई पूर्णरुपमा निस्तेज पारिने जनाएको छ ।

भर्खरै जिल्लाको प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अवैधरुपमा रहेको गाँजा खेती अभियानकै रुपमा फँडानी गरिने जानकारी दिए । ‘चुरेमा गाँजा खेती मौलाएको सूचना जिल्लामा आए लगतै पाएपछि हामीले फाँड्ने अभियान चलायौं, आइतबार मात्र आठ बिघाको गाँजा फँडानी भएको छ,’ उनले भने, ‘अवैधरुपमा रहेको गाँजा अभियानकै रुपमा फाँडिने छन् ।’

प्रतिक्रिया दिनुहोस