शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सर्‍यो

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, १९ : १३
शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सर्‍यो

काठमाडौं । पुस अन्तिम सातालाई तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार असन्तुष्ट क्लव र एन्फाबीचको छलफलपछि ए डिभिजन लिग फागुन १९ गतेबाट हुने सहमति भएको हो ।

छलफलमा यस्तो सहमति भएको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिनुभएको हो । यसअघि एन्फाले पुस २६ गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो । त्यसका लागि एन्फाले पछिल्लोपटक पुस ७ गते क्लवहरूलाई टिम दर्ता गर्न समयसीमा तोेकेको थियो ।

एन्फाले यो पटक डबल राउण्ड रोबिन पद्धतिमा लिग सञ्चालन गर्ने तयारी गरेको थियो । त्यसका लागि पहिलेको भन्दा लाग्ने खर्च पनि दोब्बर हुने भएकाले तयारी खर्च बढाउन एन्फा तयार भएको थियो । विगतका वर्षहरूमा प्रदान गर्दै आएको तयारी खर्च बापतको १५ लाख रुपैयाँ बढाएर २५ लाख दिन एन्फा सहमत भएको थियो ।

एन्फाले गत वर्षको बक्यौता साढे सात लाख रुपैयाँ क्लवहरूलाई दिन बाँकी नै छ । उक्त रकम थपेर एन्फाले क्लवहरूलाई साढे ३२ लाख तयारी खर्च उपलब्ध गराउनु पर्ने छ । एन्फाले नयाँ सिजनको लिग सुचारु गर्न पहिलो किस्तास्वरूप १५ लाख र वक्यौता रकम साढे सात लाख गरी साढे २२ लाख रुपैयाँ क्लबहरूलाई गएको मंसिर १५ गतेभित्र उपलब्ध गराउने भनेको थियो ।

मंसिर २५ गतेभित्र क्लबहरूले कम्तीमा १८ खेलाडीसहितको टिम दर्ता गर्ने सहमति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस