स्पेनलाई हराएपछि रुसभरि हर्षोल्लास

एजेन्सी

सोमबार, १८ असार २०७५, १० : ००
स्पेनलाई हराएपछि रुसभरि हर्षोल्लास

पूर्वविश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसी फुटबल समर्थकहरूले शहरका चोकहरूमा भेला भएर खुसियाली मनाइरहेका छन्।

विश्वकप आयोजक राष्ट्रका समर्थकहरूले टोलीको प्रशंसामा नाराबाजी गर्नुका साथै नाचगान समेत गरिरहेका छन्। एकदमै प्रतिस्पर्धात्मक खेलमा रुसले पेनाल्टीमा स्पेनलाई हराएको थियो। विश्वकप शुरू हुँदा फुटबलको सर्वोच्च निकाय फिफाको वरीयताक्रममा रुस निकै तल थियो।

समर्थक रूस

आश्चर्यजनक
पेनलाई प्रतियोगिताको उत्कृष्टमध्ये एक टोलीका रूपमा लिइएको थियो। निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा रुसले पूरै रक्षात्मक फुटबल खेलेको थियो।
रुसको उपलब्धिलाई यो विश्वकपकै सबैभन्दा ठूलो ‍आश्चर्यजनक परिणाम भनिएको छ। उक्त टोली विश्वकपको क्वार्टरफाइनलमा ४८ वर्षपछि पहिलो पटक पुगेको हो।

खेलमा स्पेनले १ हजार ६ वटा पास खेलेको थियो, जुन रूसले अहिलेसम्म सहभागिता जनाएका चारवटा विश्वकपमा खेलेको कुल पासभन्दा २१ वटा कम हो।
निर्धारित ९० मिनेटको खेल एक-एक गोलको बराबरीमा टुङ्गिएपछि र अतिरिक्त समयमा समेत विजेताको छिनोफानो नभएपछि भएको पेनाल्टीका नायक रुसी गोलरक्षक बनेका थिए।

खेलको म्यान अफ द म्याच समेत घोषित उनलाई रुसभरि राष्ट्रिय हिरोको जस्तो सम्मान दिइँदैछ। उनले दुईवटा पेनाल्टी प्रहारलाई विफल बनाइदिएका थिए। स्पेनभन्दा अघि पूर्वविश्वकप विजेताहरू जर्मनी र आर्जेन्टिना रुस विश्वकपबाट बाहिरिसकेका छन्।

रूस

पराजय
आइतवारकै दोस्रो खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमार्फत दुईका विरूद्ध तीन गोलले हरायो।
क्रोएसियाका गोलरक्षकले डेनमार्कका खेलाडीको तीनवटा पेनाल्टी प्रहार रोक्दै आफ्नो टोलीलाई जित दिलाएका थिए।

डेनमार्क
दुवै टोलीले पहिलो ९० मिनेटमा एक-एक गोलको बराबरी खेलेपछि उक्त खेल थप समय हुँदै पेनाल्टीमा प्रवेश गरेको थियो। सन् १९९८ यता पहिलो पटक क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो। अब उसले सोचीमा शनिवार हुने क्वार्टरफाइनलमा रुसको सामना गर्नेछ। -बीबीसी

 

प्रतिक्रिया दिनुहोस