कवि ध्रुव जोशीको ‘अनुभूतिका महक’ सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०४ पुस २०७९, १२ : ४९
कवि ध्रुव जोशीको ‘अनुभूतिका महक’ सार्वजनिक

कवि ध्रुव जोशीको ‘अनुभूतिका महक’ कविता सङ्ग्रह सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा संस्कृतिविद् तुलसी दिवसले सो कृति सार्वजनिक गरेका हुन् । 

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष रोदनले यो उमेरमा यसरी कृति सार्वजनिक गर्नु आफैँमा महत्त्वपूर्ण रहेको र आगामी दिनमा निरन्तरताको शुभकामना दिएका थिए । 

उक्त कृतिबारे प्राडा कृष्णप्रसाद दाहाल र त्रिभुवन विश्वविद्यालय हिन्दी विभाग प्रमुख सञ्जिता बर्माले समीक्षात्मक मन्तव्य राखेका थिए । वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले जुनसुकै विधा र उमेरमा पनि कविता लेख्नु भनेको कविताप्रतिको आकर्षण भएको बताए । उनले भने, “कविता यस्तो र उस्तो भन्न नमिल्ने र कविले निर्भीक र प्रष्ट भएर आफ्ना भावना राख्ने हिम्मत गर्नुपर्दछ ।” 

‘अनुभूतिका महक’ कविता सङ्ग्रहमा नेपाली, हिन्दी, उर्दू भाषामा लेखिएका कविताहरू सङ्कलित छन् । असी वर्षका कवि जोशीलाई कविता लेख्न पहिलो प्रेरणा उनकी धर्मपत्नीले दिएको जानकारी गराइएको थियो । 

सो अवसरमा कृतिकार जोशीले यो उमेरमा कविताको भोक जगाइदिने साहित्यकार शरद निरौला र मञ्जु निरौलालाई विशेष धन्यवाद दिए । कार्यक्रम सञ्चालन कवि मधु पाठकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस