अधिकांश नगरपालिकामा अव्यवस्थित शहरीकरण बढ्याे: प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

सोमबार, ०४ पुस २०७९, १२ : ३८
अधिकांश नगरपालिकामा अव्यवस्थित शहरीकरण बढ्याे: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउँदै अघि बढ्नु पर्नेमा जोड दिएका छन।

आज सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यक्तालाई उचित सम्बोधन हुने गरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दयित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताए । उनले स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने बताए । उनले जनताको काम बिना झन्झट, छिटो र छरितो रुपमा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिवद्ध हुन आवश्यक रहेको समेत बताए ।

प्रधानमन्त्री देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलैसा, हरियाली क्षेत्र र सरसफाई आदिको समुचित प्रवन्ध गर्न आवश्यक रहेको पनि बताए । उनले मुलुकको अधिकांश नगरपालिकाहरु अव्यवस्थित शहरीकरणबाट गुज्रिदा नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेका बताए । उनले काठमाडौं लगायत सबै नगरहरुलाई दिगो र वातावरण मैत्री विकासको अवधारणाबाट अघि बढाउन आवश्यक रहेको पनि बताए।

प्रधानमन्त्री देउवाले वातावरण मैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिए । उनले शहरहरुलाई आर्थिक विकासको हबका रुपमा समेत विकास गर्ने कार्यमा सहायेगी भूमिका निर्वाह गर्न नगरपालिका संघलाई आग्रह गरे । मुलुकभित्रको सबै नगरपालिकालाई सुनियोजित, सुव्यवस्थित तरिकाले आफ्नो मौलिक पहिचान र विशिष्टतासहित नमूना नगरपालिका बनाउन आवश्यक रहेको उनले बताए ।

प्रधानमन्त्री देउवाले नगरपालिकाले नगरसम्बन्धी कानून बनाउने र नगरको समग्र समस्या संघ र प्रदेशलाई उजागर गराइ रचनात्मक समारोहको बाटो पहिल्याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस