अण्डाको मूल्य बढ्न थाल्यो

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, १३ : १०
अण्डाको मूल्य बढ्न थाल्यो

चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो ।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ ।

उनले भने, ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ।’

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोख्रेल बताउँछन् ।

हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताए । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ ।

अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ ।

उनले भने, ‘सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुन्छ ।’ निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ । यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस