फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउँदै वीरगञ्ज महानगर

रासस

बुधबार, २८ मंसिर २०७९, ०८ : २५
फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउँदै वीरगञ्ज महानगर

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ । 

द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए

क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिए । 

यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् । 

यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने छ ।  यसका साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताए ।

फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने पनि उनले बताए । यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने छ ।