प्रदेश १ मा एमालेले सच्यायो समानुपातिक सूची

सफल खबर संवाददाता

मंगलबार, २७ मंसिर २०७९, २० : ०१
प्रदेश १ मा एमालेले सच्यायो समानुपातिक सूची

विराटनगर। नेकपा एमालेले प्रदेश १ प्रदेशसभामा समानुपातिक सूचीमा पठाएको नामावली मध्ये एक जनाको नाम सच्याएको छ भने मधेस प्रदेशमा २ जनाको नाम सच्याएको छ । 

एमालेले प्रदेश १ अल्पसङ्ख्यक कोटाबाट निर्वाचन आयोगलाई सिफारिस गरेको लहरुमाया जिमी (याख्खा) को ठाउँमा सुनसरीकी यशोदा कायस्थलाई पठाएको छ । एमालेको बन्दसूचीमा जनजाति महिलामा जिमीको १९ नम्बर क्रमसङ्ख्या हुँदा कायस्थको १८ नम्बर रहेको थियो भने अल्पसङ्ख्यक तर्फ पनि कायस्थको २ र जिमीको ३ नम्बर क्रम थियो । 

एमालेले पठाएको सिफारिसमा भने क्रमसङ्ख्या मिच्दै जिमीलाई सिफारिस गरेपछि निर्वाचन आयोगले सच्याउन आग्रह गरेको थियो । सोही अनुसार एमालेले कायस्थलाई सिफारिस गरेको हो ।

निर्वाचन आयोगले अल्पसङ्ख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरूले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बताएका थिए । 

नेकपा एमालेले पाएको १५ वटा समानुपातिक सिटमा अल्पसङ्ख्यक कोटामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा एमालेले जनजाति पुरुषबाट झापाका नम्बरलाल धिमाललाई पठाएको छ । जनजाति महिलाबाट भने उदयपुरकी सिर्जना दनुवार र जिमीलाई पठाएको थियो । 

एमालेले निर्वाचन आयोगलाई विवरण सच्याई पेस गरेको हो । ‘प्रदेश नम्बर १ को अल्पसङ्ख्यकतर्फ लहरुमाया जिमी (याख्खा) नामको सट्टा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र (अल्पसङ्ख्यक)को प्राथमितकताक्रम क्र.सं. ८ को यशोदा कायस्थको नाम कायम गरिदिनुहुन,’ एमालेले आयोगलाई पठाएको विवरणमा भनिएको छ । यस्तै एमालेले मधेस प्रदेशमा क्र.सं. १८ को शिला यादवको सट्टा सोभन्दा पछिल्लो क्रममा रहेको समावेशी समूह (अल्पसङ्ख्यक)भित्रको प्राथमिकताक्रम क्रम सङ्ख्या ८ को राजपती देवी जैसवालको नाम कायम गर्न तथा मधेस प्रदेशमा क्र.सं. ४० को नाजिमा खातुनको सट्टामा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्रको प्राथमिकताक्रम सङ्ख्या १ को जैनव खातुनको नाम कायम गरिदिन अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस