काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आज बिहान सुकुम्बासी बस्तीका ३ सय भन्दा धेरै व्यक्तिहरु महानगर घेर्न गएका हुन् । थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् । उनीहरुले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न महानगर टोली हिजो पुगेसँगै थापाथली क्षेत्र अशान्त छ ।
एकीकृत बागमती सभ्यता विकास समितिले चुनावको दिनमै अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । यो क्षेत्रमा करिब ५ हजार सुकुम्बासीको जनसंख्या रहेको अनुमान छ । एकीकृत वाग्मती सभ्यता विकास समितिका सुपरभाइजर सागर कटुवाल सुकुम्बासी क्षेत्रमा करिब १३६ घर टहरा हटाउनुपर्ने अवस्था रहेको बताउँछन् । समितिले नदी किनारमा रहेको सार्वजनिक भवन, किरियापुत्री भवन, साईसेवा केन्द्रका भवनहरु महानगरको सहयोगमा भत्काइसकेको छ ।
उक्त सार्वजनिक भवन भत्काएर बस्ती भत्काउने सूचना जारी गरेपछि सुकुम्बासी बस्तीका बासिन्दाले माइतीघरमा विरोध सभा समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन