विश्वकप फुटबल

ब्राजिल र मेक्सिकोले बराबरी खेलेपनि दोस्रो चरणमा

सूर्यप्रकाश कँडेल

बुधबार, १३ असार २०७५, १७ : १२
ब्राजिल र मेक्सिकोले बराबरी खेलेपनि दोस्रो चरणमा

चितवन । विश्वकप फुटबलको समूह चरणका ४८ खेलमध्ये ४० खेल भइसकेका छन् । बाँकी खेलमध्ये बुधबार चार वटा र बिहीबार चार वटा खेल भएपछि समूह चरण सकिने छ । समूह चरणमा खेल्नुपर्ने तीन खेलमध्ये दुई खेलमात्र खेलेका समूह ई र समूह एफका टिमले आज बुधबार तेस्रो खेल खेल्दैछन् ।
राति पौने १२ बजे हुने समूह ई को खेलमा सर्बियासँग ब्राजिल र स्वीजरल्याण्डसँग कोस्टारिका भिड्दैछन् । एक खेल जितेर एक खेल बराबरी खेलेको ब्राजिल चार अंकसहित समूह ई को शीर्ष स्थानमा छ । चार अंककै साथमा स्वीजरल्याण्ड दोस्रो र तीन अंकको साथमा सर्बिया तेस्रो स्थानमा छन् । दुई खेलमा हार व्यहोरेको कोस्टारिका दोस्रो चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । ब्राजिल र सर्बियाबीचको खेल जसले जित्छ, त्यो टिमले दोस्रो चरणमा प्रवेश पाउने पक्का छ । खेल बराबरीमा टुंगियो भने ब्राजिल दोस्रो चरणमा पुग्नेछ ।


समूह एफमा रहेका कोरिया र जर्मनी तथा मेक्सिको र स्वीडेन राति पौने आठ बजे खेल मैदानमा आमनेसामने हुँदैछन् । ६ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको मेक्सिकोले खेल जितेमा वा बराबरी खेलेमा दोस्रो चरण प्रवेश पक्का छ । खेल हारेमा पनि मेक्सिको दोस्रो चरणमा पुग्ने सम्भावना देखिन्छ । दुई खेल हारिसकेको कोरियाले जर्मनीलाई हराउने सम्भावना कम छ । जर्मनीलाई हराएपनि कोरिया दोस्रो चरणमा पुग्न सक्ने अवस्था छैन । दोस्रो चरणमा प्रवेश पाउन जर्मनी र स्वीडेनले आजको खेल जित्नै पर्ने देखिन्छ ।


चार वर्षमा एक पटक आउने फिफा विश्वकप फुटबलको महाकुम्भ मेला अहिले रसियामा चलिरहेको छ । विश्वकप फुटबलको २१ औं संस्करण रसियाले आयोजना गरेको हो । यसपटकको विश्वकप फुटबल प्रतियोगितामा ३२ देश सहभागी छन् । पहिलो समूह चरणका खेलहरु भइरहेका छन् । प्रतियोगितामा समूह चरणका ४८ र लीग चरणका १६ गरी कूल ६४ वटा खेल हुनेछन् । गत जेठ ३१ गतेदेखि शुरु भएको यो प्रतियोगिता असार ३१ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस