विश्वकप फुटबल

मार्कोस र मेसीले अर्जेन्टिनालाई दिएको खुसी युट्युब ट्रेन्डिङको एक नम्बरमा

सूर्यप्रकाश कँडेल

बुधबार, १३ असार २०७५, १६ : २८
मार्कोस र मेसीले अर्जेन्टिनालाई दिएको खुसी युट्युब ट्रेन्डिङको एक नम्बरमा

चितवन । मंगलबार मध्यरात रसियामा भएको नाइजेरिया र अर्जेन्टिनाबीचको खेलमा अर्जेन्टिनाका मार्कोस रोजो र लियोनल मेसीले गोल गरेर टिमको लागि २–१ को नतिजा निकाल्दै नकआउट चरणमा प्रवेश पक्का गरे । मार्कोस र मेसीले अर्जेन्टिनालाई दिएको यो खुसी अर्थात् नाइजेरिया र अर्जेन्टिनाबीच सम्पन्न खेलको मुख्य अंश (हाइलाइट्स) युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ ।
विश्व फुटबल महासंघ (फिफा) ले अपलोड गरेको यो भिडियोले बुधबार दिउँसो साढे चार बजेसम्म ८९ लाख ५० हजारभन्दा बढी भ्युज पाइसकेको छ । सवा दुई मिनेटको भिडियोमा अर्जेन्टिनाका मेसी र मार्कोस तथा नाइजेरियाका भिक्टर मोसेसले गरेका गोल र गोलपछिको खुसी साटासाटको क्षण देखाइएको छ । अर्जेन्टिनाका मार्कोसले खेलमा निर्णायक गोल गरेपछि खुसी हुँदै मेसीलाई बोकेर मैदानमा दौडिएको दृश्य हेर्नलायक छ ।
चार वर्षमा एक पटक आउने फिफा विश्वकप फुटबलको महाकुम्भ मेला अहिले रसियामा चलिरहेको छ । विश्वकप फुटबलको २१ औं संस्करण रसियाले आयोजना गरेको हो । यसपटकको विश्वकप फुटबल प्रतियोगितामा ३२ देश सहभागी छन् । पहिलो समूह चरणका खेलहरु भइरहेका छन् । प्रतियोगितामा समूह चरणका ४८ र लीग चरणका १६ गरी कूल ६४ वटा खेल हुनेछन् । गत जेठ ३१ गतेदेखि शुरु भएको यो प्रतियोगिता असार ३१ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस