एमालेको नेतृत्वमा सरकार बनाउने पहल गर्छौँ : विष्णु पौडेल

सफल खबर संवाददाता

सोमबार, १२ मंसिर २०७९, १० : ४६
एमालेको नेतृत्वमा सरकार बनाउने पहल गर्छौँ : विष्णु पौडेल

रुपन्देही । रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गर्ने बताएका छन् । सोमबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यो निर्वाचनमा कसैको पनि बहुमत नआउनु दुर्भाग्य रहेको उल्लेख गरेका हुन् । 

उनले भने, ‘नेकपा एमालेले बहुमत ल्याउने गरी चुनावमा होमिएको थियो तर सकिएन । हामीले नल्याए पनि अरू कसैले बहुमत ल्याउनुपर्थ्यो, सकेनन् । यो मुलुकको लागि दुभाग्यपूर्ण हे । तर पनि एमालेको नेतृत्वमा सरकार बनाउन हाम्रो प्रयास रहने छ ।’ के को सँग मिलेर सरकार बनाउने भन्नेबारे भने उनले प्रष्ट खुलाएनन् । कसैको पनि बहुमत नआउँदा मुलुकमा राजनीतिक अस्थिरता पैदा हुने उनले बताए । अग्रगामी एजेन्डासहित सरकार बनाउने कोसिस एमालेले गर्ने उनले उल्लेख गरे ।

रुपन्देही २ बाट नवनिर्वाचित पौडेलले आम मतदातालाई धन्यवाद पनि दिए । नेकपा एमालेलाई पराजित गरेर संसद्मा कमजोर बनाउन चाहने शक्तिहरूले एमालेका कयौँ संसद्मा आउनै पर्ने नेताहरूलाई हराएको उनले टिप्पणी गरे ।

हार बेहोरेका नेताहरूले संसद् बाहिरबाटै पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । नेकपा एमालेले मुलुकको समृद्धिको लागि मुख्य पहलकदमी लिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस