गठबन्धनले कर्णालीमा कांग्रेसलाई फाइदा, एमाले शून्य

सफल खबर संवाददाता

शनिबार, १० मंसिर २०७९, १९ : ४०
गठबन्धनले कर्णालीमा कांग्रेसलाई फाइदा, एमाले शून्य

सुर्खेत । अघिल्लो पटकको चुनावमा एक सिट मात्र प्रदेशसभामा जितेको कांग्रेसले अहिले गठबन्धनको बलमा उलेख्या प्रगती गरेको छ । कर्णालीका १० जिल्लाको नतिजा आइसक्दा कांग्रेस बलियो शक्तिको रुपमा उदाएको छ । 

नेपाली कांग्रेसले सुर्खेतका दुईवटै निर्वाचन क्षेत्र र दैलेख क्षेत्र नम्बर २ गरी तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । प्रतिनिधिसभामा २०७४ मा कुनै पनि सिट जित्न नसकेको कांग्रेसले यो पटक गठबन्धनको बलमा धेरै ठाउँमा आफ्नो उपस्थिती बलियो बनाएको छ । ०७४ मा पाँच वटा क्षेत्र जितेको नेकपा (माओवादी केन्द्र) ले यो पटक रुकुम पश्चिम र जाजरकोट , हुम्ला , कालिकोटमा मात्र विजय हासिल गरेको छ  ।

त्यस्तै कांग्रेसले सुर्खेतका दुइ क्षेत्र , दैलेखका एक क्षेत्र र मुगुमा जितेको छ । राप्रपाको जुम्लामा एक सिट जितेको छ । समाजवादीले सल्यान , डोल्पा र दैलेखमा प्रतिनिधिसभामा जित हात पारेको छ । 

गठबन्धनभित्रको अर्को साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेका दैलेख १, सल्यान र डोल्पामा विजयी हासिल गर्दा नेकपा एमाले भने शून्यमा झरेको छ । 

यतिसम्मकी कर्णालीमा एमाले विभाजनपछि बनेको समाजवादीले नै आफ्नो बलियो उपस्थिति जनाउँदा एमाले ०७४ मा कांग्रेसकै अवस्थामा पुगेको हो । गठबन्धनमा भाग परेकामध्ये माओवादीलाई एक सीटमा घाटा लागेको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले माओवादीका उम्मेदवार गोमा कुँवरलाई पराजित गरे ।

कर्णालीमा प्रतिस्पर्धी दलहरु नेकपा एमाले, माओवादी र कांग्रेसबीच हो । गठबन्धन बनेर जाँदा ०७४ मा बाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो भने यो पटक लोकतान्त्रिक–बाम गठबन्धनबीच प्रतिस्पर्धाका लागि दलहरू मैदानमा उत्रिएका थिए। तर स्वतन्त्र र साना दलहरुको दबदबाले कतिपय ठाउँमा गठबन्धनका उम्मेदवारको प्रतिस्पर्धा स्वतन्त्रसँग भएको देखिन्छ । 

हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका समाजवादीका नेता बुढाले आफ्ना प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७ मतान्तरले पराजित गरेका हुन् । बुढा ११ हजार २२५ मतसहित निर्वाचित हुँदा एमालेका शाहीको पक्षमा ५ हजार ४९८ मत आएको छ । बुढाले यो पटकसहित तीन पटक संसदीय निर्वाचनमा जितको ‘ह्याट्रिक’ पार गरेका छन् । 

यता माओवादीका उपमहासचिव शक्ति बहादुर बस्नेले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ पार गरे । बस्नेत ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए । बस्नेतले यसअघि ०७० र ०७४ मा संसदीय चुनाव जितेका थिए ।
 
सल्यानमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका समाजवादीका उपमहासचिव प्रकाश ज्वाला बहुमतसहित विजयी भए ।  ज्वालाले योसहित पाँच पटक संसदीय चुनावमा भाग लिएका छन् । जसमा ०५६, ०७९ र ०७४ मा सफल भए भने ०५१ सालमा असफल भएका थिए ।

दैलेख क्षेत्र नम्बर १ मा समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले आफ्ना पुर्व सहकर्मी एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई पराजित गरे । थापा १८ हजार २५६ मतसहित विजयी भएका हुन् । 

क्षेत्र नम्बर २ मा गठबन्धनको बलमा कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ। यहाँ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही १५३ मतान्तरसहित विजयी भएका छन् । उनले २० हजार १५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए।  

सुर्खेतमा कांग्रेसले ०७४ मा एमालेसँगको पराजयको बदला लिएको छ । गठबन्धनको बलमा दुईवटै क्षेत्रमा कांग्रेसका उम्मेदवारले चुनाव जितेको छ । क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले ०७४ मा आफूलाई पराजित गरेका शाहीलाई नै पराजित गर्दै निर्वाचित भए । एमालेका धुर्व कुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले खड्काले पराजित गरेका हुन् । खड्का ४२ हजार ६०७  मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ३० हजार ९८८ मत प्राप्त गरे।

खड्काले गृहमन्त्री, गृहमन्त्री, सूचना तथा सञ्चार मन्त्री गरी पटक–पटक गरी आधा दर्जन मन्त्रालयको  जिम्मेवारी सम्हालिसकेका छन् । यता २ मा पनि कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे ।  विसीले २९ हजार ५५८ मत प्राप्त गरे। थानीले योसँगै तीन पटक संसदीय निर्वाचन जिते । 

रुकुम पश्चिममा भने माओवादीले पुनः आफ्नो वर्चश्व कायम गरेको छ । सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित भएका छन् । सम्भवतः कर्णालीमा सबैभन्दा धेरै मतान्तरले चुनाव जित्नेमा शर्मा नै हुन् । 

प्रदेशसभामा समेत कांग्रेसको बलियो उपस्थिती बनेको छ । जाजरकोटका दुइ क्षेत्र,  सल्यान प्रदेश (क) मा कांग्रेस , जुम्लामा कांग्रेसकै स्वतन्त्र प्रदेश(क) , कालिकोट प्रदेश(ख) , हुम्ला प्रदेश(ख) , दैलेखको क्षेत्र नम्वर १ (क,ख) , क्षेत्र २ (क) ,क्षेत्र न १ को (क) कांग्रेसले जित हात पारेको छ । प्रदेशसभा एक मात्र सिट अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो । जो अहिले पनि मुख्यमन्त्री जीवनबहादुर शाही रहेका छन् ।