बैतडीमा ११३ वर्षीया महिलाले गरिन् मतदान

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १९ : ०७
बैतडीमा ११३ वर्षीया महिलाले गरिन् मतदान

बैतडी । बैतडीको पाटन नगरपालिका वडा न.४ ठाँड निवासी मानमती देवी भट्टले यसपाली १ सय १३बर्षको उमेरमा मतदान गरेकी छन् । उनले यसअघिका अधिकांश चुनावमा मतदान गरेकी छन् । 

२०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् । जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यसपालि छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूूत विद्यालय स्थीत मतदान स्थलमा मतदान गरेकी हुन् । 

१ सय १३ वर्षको उमेरमा मतदान गरेकी मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने चाहना राखेकी छन् । उनले भनिन्, ‘म किसोरावस्थामा भारतको लोहाघाटबाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ । अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जीवन कटाएका व्यक्ति हौँ । अहिले घरघरमा विजुलीबत्ति पुगेको छ । ओखल–जातो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’

ठाउँठाउँमा स्कूूल खुलेको र स्वास्थ्य संस्थाहरु स्थापना भएको कुरा सुनाउँदै उनले भनिन्, ‘मेरो जेठो छोरालाई ७० वर्ष भयो । उ भन्दाअघिका तीन छोराको बाल मृत्यु भएको थियो, तर अहिले हुँदैन् । सबै क्षेत्रमा विकास भएको छ । अझै केहि वर्ष बाचेमा बढी विकास निर्माण हेर्न पाउथेँ ।’ बैतडी र डडेल्धुरामा समेत घर भएकी मानमतीले बैतडीदेखि डडेल्धुरा बैतडीदेखि धनगढीदेखि ५ दिनको पैदल यात्रा गरेको समेत सुनाइन् ।