सुदूरपश्चिमका एक हजार मतदान स्थल मध्ये ७ सय ५८ स्थल संवेदनशील

सफल खबर संवाददाता

शुक्रबार, ०२ मंसिर २०७९, १९ : ३९
सुदूरपश्चिमका एक हजार मतदान स्थल मध्ये ७ सय ५८ स्थल संवेदनशील

धनगढी । आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिममा सवै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी, मत पत्र र पम पेटिका पुगिसकेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए ।

भट्टका अनुसार सुदूरपश्चिमका एक हजार १ सय ६१ मतदान स्थल मध्य ४ सय ५ मतदान स्थल मात्र भौगोलिक तथा सुरक्षाका दृष्टिले सामान्य स्थितमा राखिएका छन् । तर ७ सय ५६ स्थल भने सुरक्षाका दृष्टिले संवेदनशिल  र अति संवेदनशिल मतदान स्थलको सूचिमा राखिएका छन् । प्रदेशका ३ सय ५२ मतदान स्थल अति संवेदनशील र ४ सय ४ स्थललाई संवेदनशील मतदान स्थलको सूचिमा राखिएको छ ।

ती मतदान स्थललाई भौगोलिक दृष्टि र अन्य मानविय दृष्टिले संवेदनशिल स्थलमा राखिएका हुने । ‘सुदूरपश्चिमका एक हजार १ सय ६१ मतदान स्थल मध्ये कम स्थल मात्रै सुरक्षाका दृष्टिले समान्य अवस्थामा राखिएका छन्,’ भट्टले भने, ‘तर आधा भन्दा बढी मतदान स्थल विभिन्न दृष्टिले अति संवेदनशील र संवेदनशील सूचिमा राखिएका छन्, त्यहाँ सोही अनुसार सुरक्षा बल परिचालन गरिएको छ ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौतीलगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको छ । १६ प्रतिनिध तथा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा दुई हजार १ सय ४६ मतदान केन्द्र निर्धारण गरिएका छन् । तीमध्ये ७ सय १० अति संवेदनशील, ७ सय ७८ संवेदनशील र ६ सय ५८ मतदान केन्द्रलाई सामान्य अवस्थामा राखेर सुरक्षा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । 

सोही अनुसार प्रदेशमा साढे १७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । निर्वाचनलाई शान्तिपुर्ण रूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १७ हजार ८ सय ५९ सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी रावलले बताए ।

निर्वाचनका बेला एक सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी रावलका अनुसार निर्वाचनका दिन २० वटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकता अनुसार परिचालन गरिने छ ।

रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित म्यादी प्रहरी फरक–फरक ठाउँमा तैनाथ हुनेछन् ।  सूचना अधिकारी रावलका अनुसार निर्वाचनका लागि कैलालीमा दुई हजार आठ सय १२, कञ्चनपुरमा एक हजार छ सय ३२, बाजुरामा सात सय ४९, डोटीमा नौ सय ५३, डडेल्धुरामा नौ सय ३७, अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी परिचालन गरिएका छन् ।

त्यसैगरी बझाङमा एक हजार एक सय ८८, दार्चुलामा आठ सय २९ र बैतडीमा एक हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको उनले बताए । 

कुन जिल्लामा कति छन् संवेदनशिल मतान स्थल

प्रदेश प्रहरी कार्यालयका अनुसार २ सय ३७ मतदान स्थल रहेको कैलालीमा ५३ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै १ सय ३१ मतदान स्थल संवेदशनील र ५३ मतदान स्थल सामान्य रहेका छन् । कैलालीमा ६ सय २९ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये १ सय ५८ अति संवेदनशील, ३ सय ४४ संवेदनशील र १ सय २७ मतदान केन्द्र सामान्य रहेका छन् ।  कैलाली प्रदेशमै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको यो जिल्लामा पाँचवटा निर्वाचन क्षेत्र कायम छ । 

यस्तै तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कायम भएको १ सय ३२ मतदान स्थलमध्ये ६६ वटा अति संवेदनशील, २६ वटा संवेदनशील र ४० वटा मतदान स्थल सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यो जिल्लामा ३ सय ४६ वटा मतदान केन्द्र छन् । तीमध्ये १ सय ८५ अति संवेदनशील, ७३ संवेदनशील र ८८ वटा मतदान केन्द्र सामान्य छन् । 

यस्तै १ सय १ मतदान स्थल रहेको डडेल्धुरामा २३ मतदान स्थल अति संवेदनशील, ४१ वटा संवेदनशील र ३७ वटा मतदान स्थल सामान्य छन् । यो जिल्लामा १ सय ३९ मतदान केन्द्र कायम भएको छ । तीमध्ये ३९ वटा मतदान स्थल अति संवेदनशील, ५७ वटा संवेदनशील र ४३ वटा सामान्य छन् ।

बझाङमा १ सय ३५ मतदान स्थलमध्ये ५६ वटा अति संवेदनशील, ५८ संवेदनशील र २१ मतदान स्थल सामान्य छन् । भौगोलिक विकटता रहेको बझाङ जिल्लामा १ सय ८४ मतदान केन्द्र कायम गरिएका छन् । तीमध्ये ८३ मतदान केन्द्र अति संवेदनशील, ७५ वटा संवेदनशील र २६ मतदान केन्द्र सामान्य छन् । 

यसैगरी १ सय १५ मतदान स्थल रहेको डोटीमा नौवटा अति संवेदनशील, ३० संवेदनशील र ७६ वटा मतदान स्थल सामान्य छन् । डोटी जिल्लामा १ सय ७७ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये ११ वटा अति संवेदनशील, ४८ संवेदनशील र १ सय १८ वटा मतदान केन्द्र सामान्य छन् ।

अछाममा १ सय ३० मतदान स्थलमध्ये ६० वटा अति संवेदनशील, ५० वटा संवेदनशील र २० वटा मतदान स्थल सामान्य छन् । अछाम जिल्लामा २ सय ८ वटा मतदान केन्द्र कायम गरिएका छन् । तीमध्ये ९७ वटा अति संवेदनशील, ८० वटा संवेदनशील र ३१ सामान्य छन् । भौगोलिक अवस्थाअनुसार विकट अछाममा पनि अति संवेदनशील र संवेदनशील मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या बढी रहेको छ ।

यस्तै बैतडीमा १ सय २९ मतदान स्थल छन् । तीमध्ये ३१ वटा संवेदनशील, ३४ वटा संवेदनशील र ६४ वटा मतदान स्थल सामान्य छन् । त्यस्तै  २ सय १० मतदान केन्द्रमध्ये ५४ वटा अति संवेदनशील, ५२ संवेदनशील र १ सय ४ वटा मतदान केन्द्र सामान्य रहेका छन् ।

यसैगरी १ सय १२ मतदान स्थल रहेको दार्चुलामा ११ वटा अति संवेदनशील, ११ वटा संवेदनशील र ९० वटा मतदान स्थल सामान्य छन् । यो जिल्लामा १ सय ४१ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये १३ वटा अति संवेदनशील, १४ वटा संवेदनशील र १ सय १४ वटा मतदान केन्द्र सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाजुरामा सवैभन्दा बढी जोखिम

मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेका छन् ।

गत वैशाखमा भएको स्थानीय चुनावमा बाजुराको बूढीगंगामा पहिलो चरणमा चुनावमा धाँधली भएको भन्दै दोस्रो चरणमा चुनाव भएको थियो ।

स्थानीय चुनावमा भएका गतिविधि र विगतका क्रियाकलापलाई आधार मानेर बाजुरालाई अतिसंवेदनशील जिल्लाका रुपमा राखिएको छ ।

बाजुरा जिल्लाका ७० मध्ये ४ वटा मतदानस्थल मात्रै सामान्य अवस्थाका छन् । ४३ वटा मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए । यस्तै २३ वटा मतदानस्थल संवेदनशील रहेका विष्टले बताए ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदानस्थलमा १ सय १२ मतदान केन्द्र छन् । शान्ति सुरक्षाको संवेदनशीलतालाई बुझ्न सुदूर पश्चिम प्रदेश सरकारका सचिव नारायणप्रसाद दुवाडी शर्मा, प्रहरी नायव महानिरीक्षक मोहन आचार्य र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराई बाजुरा पुगेका थिए ।

चुनावलाई स्वतन्त्र निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न अनुमगन तथा निरीक्षण भएको नेपाली सेनाको श्री दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी दिवाकर खड्काले बताए ।

अनुगमनमा पुगेको टोलिले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सबै उपाय लगाउन निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस